ललितपुर महानगरपालिकाले अपाङगतामैत्री ट्याक्सी प्रयोगमा ल्याउने

रासस

ललितपुर 

ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ । महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय सम्झौता गरी अपाङ्गता भएका व्यक्तिलाई हिँडडुलमा सहज पुर्याउन उक्त ट्याक्सी प्रयोगमा ल्याउन लागेको हो ।
 
महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गरी उनीहरुको हितमा हाललाई एउटा ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउन लागेको बताए । उनले भने, 'अन्य किसिमको सवारी साधनमा अपाङ्गता भएका व्यक्तिलाई यात्रा गर्न धेरै असहज भइरहेको हुँदा हामीले एउटा क्याब महानगरपालिकाभित्र प्रयोगमा ल्याउन लागेका हौं ।' यस ट्याक्सीमा ह्विलचेयरसहित चढ्न सकिने महर्जनको भनाइ छ ।
  
सो ट्याक्सीमा चारवटा ह्विलचियरमा बसेका अपाङ्गता भएका व्यक्ति र उनीहरुको सहयोगीसमेत अट्ने क्षमताको रहेको छ । महानगरपालिकाले यसको सञ्चालनका लागि आवश्यक चालक, तेल, ट्याक्सी मर्मत र सवारी करको खर्च सबै आफँैले तिर्ने बताइएको छ ।
 
स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले यसलाई कसरी र कहाँ सञ्चालन गर्ने भन्ने कुराको निर्णय गर्नेछ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सो क्याब खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख र केन्द्र इरुका जापानले रु १५ लाख खर्च गर्ने सम्झौता गरेको जानकारी दिए । उनले भने, 'सम्भवतः यो मुलुकमा भित्रिएको पहिलो तथा नमूना किसिमको ट्याक्सी हुनेछ ।'

 उनका अनुसार सम्झौतापत्रमा प्रमुख महर्र्जनसहित केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनसहित अधिकृत कोइराला, केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठ र महासचिव कृष्ण गौतमको उपस्थिति थियो । 

तीन स्थानमा चेकपोष्टको व्यवस्था गरिने
    
दक्षिण ललितपुरको तीनै गाउँपालिकाले यहाँको विर्खेधारा, बगुवापुल र नल्लुनाकामा चेकपोष्टको व्यवस्था गर्ने भएका छन् । गाउँपालिकामा सोमबार बसेको अध्यक्ष फोरमको बैठकले ललितपुरमा दिनानुदिन कोरोना सङ्क्रमित बढ्दै गएका कारण गाउँवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै यी तीन स्थानमा चेकपोष्टको व्यवस्था गर्न लागिएको हो ।
     
महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आउँदो भदौ २५ गतेसम्मका लागि तीनै गाउँपालिकामा अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द गरिने उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपाल सरकारबाट घोषणा गरिएको निषेधाज्ञाको पूर्णपालना गर्दै फोरमले यसअघि गरेको निर्णय कार्यान्वयनमा निरन्तरता दिने, तीनै गाउँपालिकामा प्रवेश गर्ने नाका आवागमनमा नियन्त्रण गरेर जाँचमा थप कडाइ गर्ने, आ–आफ्ना क्षेत्रमा सचेतना जगाउने, होटल, पसललगायत जनसरोकार सम्बन्धित व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड तथा सामग्रीको अनिवार्य प्रयोग गरी पालना गर्नसमेत गाउँवासीलाई आग्रह गरिएको छ । 

वाग्मती हुँदै कान्ति लोकपथको बाटो छोटो दूरीका साथ हेटाँैडा पुग्न सकिने भएकाले हिँड्डुलमा मानिसको आवतजावत रोक्न अध्यक्ष फोरमले यस्तो निर्णय गरेको हो । 
 

प्रकाशित मिति: : 2020-09-01 08:49:36

प्रतिकृया दिनुहोस्