कांग्रेस महाधिवेशनः पदाधिकारीमा दाबी गर्दै महिला नेतृहरु

हिमाल खबर

काठमाडौं

कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीका आंकाक्षी महिलाहरुले कोरोना संक्रमण जोखिमका बीच व्यक्तिगत रूपमा तयारी गरेर एउटै पदमा लड्दा केन्द्रीय कार्यसमितिमा धेरै महिला आउने बाटो बन्द हुने चिन्ता छ।

आगामी फागुनको पहिलो साता नेपाली कांग्रेसको १४औं महाधिवेशन हुने तय गरिएसँगै नेताहरूको सक्रियता र सभापति पदका लागि दाबी शुरु भइसकेको छ। महिला नेताहरूले पनि पदाधिकारीमा उठ्ने तयारी थालेका छन्। 

केन्द्रीय सदस्य सुजाता कोइराला, सांसद मीना पाण्डे, प्रतिनिधिसभामा सचेतक रहेकी पुष्पा भुसाल, सांसदहरू उमा रेग्मी, डा. डिला संग्रौला, केन्द्रीय सदस्य कमला पन्त, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने लगायत पदाधिकारीमा जाने नेताका रुपमा हेरिन्छन्। यद्यपि महाधिवेशनका लागि समय बाँकी नै रहेकाले अधिकांशले पदाधिकारीमा उठ्ने/नउठ्ने वा कुन पदमा उठ्ने भन्ने निर्क्योल नभएको बताएका छन्।

सांसद एवं केन्द्रीय सदस्य संग्रौला भने आफू पदाधिकारीमै जाने गरी तयारी थालेको बताउँछिन्। महिला संघको पूर्व अध्यक्ष रहेकी उनले देशभरि पार्टीको विभिन्न संरचनामा छलफल गरिरहेको बताइन्। “जिल्ला तथा विभिन्न सञ्जालसँग छलफल गरिरहेकी छु, तर सभापतिका लागि नेताहरुबीच चर्चा भए पनि अरु को कुन पदमा भन्ने छलफल नभएकाले मैले पनि नेतृत्वसँग कुरा गर्न पाएको छैन”, उनले भनिन्। 

सांसद एवम् महिला संघकी अध्यक्ष उमा रेग्मी पनि पदाधिकारीको आंकाक्षी छिन्। तर, कुन पदमा उठ्ने भन्ने अहिले निर्क्योल गरिनसकेको बताउँछिन्। उनले भनिन्, “उठ्दा पदाधिकारीमै उठ्ने हो, तर महाधिवेशनको समय आएपछि बोल्नु नै उचित हुन्छ।” यस विषयमा महिला नेताहरुबीच र पार्टी नेतृत्वसँग छलफल गर्नुपर्ने भए पनि कोरोना संक्रमण जोखिमको कारण कठिन भएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-09-01 10:45:26

प्रतिकृया दिनुहोस्