नेयमार र डी मारियालाई काेराेना संक्रमण

ब्राजिली स्टार नेयमारसहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको हो।

क्लबले खेलाडीको नाम भने सार्वजनिक गरेको थिएन। तर फ्रान्सको ले’एकिपेले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण भएको जनाएको छ।

‘परिक्षण पश्चात तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ। र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार अघि बढिसकेका छन्,’ क्लबले भनेको छ।

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन। पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ।

पीएसजीको लिग खेल स्थगित भएपछि खेलाडीले केहि विश्राम पाएका थिए। नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजा बिचमा छुट्टी मनाउन गएका थिए।

कोरोनाकै महामारीका कारण नयाँ सिजन समेत प्रभावित बनेको छ। लिगको पहिलो खेलमै कोरोनाका कारण स्थगित गर्नुपरेको थियो।

फ्रान्सेली लिगको नियम अनुसार अब पीएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ। लिगको नियम अनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ। क्लबले केहि दिनमा नै अन्य खेलाडी र टोली सदस्यको कोरोना परिक्षण गर्नेछ।
 

प्रकाशित मिति: : 2020-09-02 21:15:14

प्रतिकृया दिनुहोस्