बागलुङको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितको टोलीले बागलुङमा बाढी प्रभावित क्षेत्र पुगेको छ।

ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई राहत दिन र स्थलगत निरीक्षणका लागि उच्च सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको हो।

बिहीबार मौसमबाट कारण बाढी प्रभावित क्षेत्रमा पुग्न नसकी फर्किएको टोली शुक्रबार बिहान बागलुङका लागि उडेको थियो। टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत छन् ।

गृहमन्त्री थापाको सचिवालयका अनुसार बाढी प्रभावित क्षेत्रमा पुगेर उनीहरु फर्किसकेका छन्। गृहमन्त्री थापासहितको टोली यसअघि पनि राहत लिएर सिन्धुपाल्चोक र अछामको बाढी प्रभावित क्षेत्रमा पुगेको थियो ।

बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु हुनेको संख्या १४ पुगेको छ। क्षत विक्षत अवस्थामा फेला परेको कारण शवको पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिउ। बाढीले वडा नम्बर ९, ८ र ७ का ३१ घरमा पूर्ण क्षति पुर्‍याएको छ।

‘कसैको खुट्टा चुडिएको छ, कसैको ढाड देखी तलपट्टीको भाग छैन, कसैको टाउँको चुडिएको अवस्थामा शव फेला परेको छ रेग्मीले भने। हिलोमा लतपत अवस्थामा रहेकाले तत्काल शवको पहिचान हुन सकेको छैन। घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ ।

बाढीग्रस्त क्षेत्रबाट हालसम्म चार जना घाइतेको उद्दार गरिएको छ । घाइते हुनेमा ढोरपाटन न.पा.४ दुनेपोखरा बस्ने बर्ष १५ को महेन्द्र पुन, वर्ष २८ की सरीता घर्ती, बर्ष ४२ को धर्मेन्द्र पुन, बर्ष ५४ की बेलमती पुन छन्।

मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ । घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले बताए।

रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन् । केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कति क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन्। अधिकांश घरको भग्नावशेषसमेत देखिएको छैन। बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: : 2020-09-04 14:01:59

प्रतिकृया दिनुहोस्