सरकारले समयमै निकास नदिँदा रथ तान्ने क्रममा दुखद घटना घट्योः राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले समयमै निकास नदिँदा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा दुखद घटना घटेको बताएका छन् ।

मछिन्द्रनाथको जात्रा मान्ने विषयमा स्थानीय जनता, गुठियारहरू सरकारसँग पाँच महिना यता संवादमा रहे पनि सरकारले वास्ता नगरेको अध्यक्ष राणाको भनाइ छ ।

सँस्कृति, सम्पदा, धर्म नेपाली हुनुको आधारशीला हो भन्दै स्थानीय र गुठियारलाई विश्वासमा लिएर चौध सय वर्ष पुरानो परम्परा कायम राख्न सरकारलाई राणाले आह्वान गरेका छन । झडपको क्रममा हिरासतमा लिइएका युवाहरूको अविलम्ब रिहाईको पनि माग गरेका छन् ।

‘रातो मछिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयहरू सरकारसँग पाँच महिनादेखि वार्तामा छन् । सरकारले समयमै निकास नदिँदा चौधसय वर्ष लामो परम्परा मान्ने क्रममा हिजो दुखद घटना घट्यो । कर्फ्यू त्यसैको बाध्यात्मक उपज हो, स्थायी समाधान होइन । रथ बनीसकेपछि जात्रा रोक्नु भएन,’ राणाले शुक्रबार ट्वीट गर्दै भने ।

‘सँस्कृति, सम्पदा, धर्म नेपाली हुनुको आधारशीला हो । यही सत्य मनन् गरेर समाधान दिन जनताद्वारा जनताको सरकारलाई आह्वान गर्दछु । स्थानीय र गुठियारलाई विश्वासमा लिनु बुद्धिमानी हुने अवगत गराउदछु,’ उनले भने ।

‘झडपको क्रममा हिरासतमा लिइएका युवाहरूको अविलम्ब रिहाईको माग गर्दछु,’ अध्यक्ष राणाले सरकारको ध्यानाकर्षण गर्दै भने ।

प्रकाशित मिति: : 2020-09-04 16:26:26

प्रतिकृया दिनुहोस्