धारा निर्माणमा जुटे युवा

रासस

टिकापुर 
सांकेतिक तस्बिर

बाढीका कारण खानेपानीका धारा डुबानमा परेपछि कैलालीको भजनीमा युवा धारा निर्माणमा जुटेका छन् । साउन १४ गते आएको बाढीले भजनीमा पानीका मुहानलगायत डुबानमा पर्दा पिउने पानीको समस्या टार्न युवा आफैँले रकम ङ्ंकलन गरी धारा निर्माण थालेका हुन् । भजनी–३ बर्दवाफाँटाका युवा रकम सङ्कलन गरी धारा निमार्णमा जुटेको स्थानीय पदमराज जैसीले बताए । ‘भजनी नगरपालिका वर्षेनी बाढी र डुबानको चपेटामा पर्दै आएको छ’ जैसीले भने, ‘सधैँ अरुले बनाइ देलान भनी कति पर्खनु, बाढीका बेला पिउने पानीको अभाव हुने भएकाले आफैँले रकम उठाएर बनाउन थालेका हौँ ।’

वडा नं ३ का २२ युवाले रु ४४ हजार सङ्कलन गरी धारा निर्माण गरिरहेका छन् । धारा बनाउन खर्च बढी लाग्ने भएकाले युवा स्वस्फूर्त व्यक्तिगत रुपमा रकम उठाएर धारा बनाउन थालेका स्थानीय रुपेश बुढाले बताए ।

'पानी पिउने धारा बनाउनका लागि कसलाई गुहार्नु, बाढी आएदेखि यहाँका नागरिकले राम्ररी पानी पिएका छैनन्’ बुढाले भने, ‘उच्च धारा भए यहाँका नागरिकलाई बाढीको समयमा राहत हुन्छ । पानी त शुद्ध पिउन पाउनुप¥यो भनी धारा निर्माणमा जुटेका हौँ ।’

युवाले वडा नंं ३ मा तीन वटा धारा बनाउने योजना बनाएका छन् । डल्फिन क्षेत्रको नयाँ बस्तीमा एउटा र अर्को सबैलाई पायक पर्ने गरी हुलाकी सडक किनारमा बनाउने गरी काम थालेका छन् ।  ५५ फिटको धारा बनाउने भएकाले लागत अपुग हुने उनीहरु बताउँछन् । ‘'अग्लो र पक्की बनाउनुपर्ने भएकाले एउटै धारा निर्माणमा करिब रु ५० हजार खर्च हुन्छ’ बुढा भन्छन्, ‘केही रकम आफैँ उठाइरहेका छौँ, केही सहयोगीसँग मागेर बनाउने योजना छ ।’

धाराको उपयोगिता र संरक्षणको लागि युवासँगै समुदाय धेरै जिम्मेवार हुने भएकाले धारा संरक्षणको जिम्मा समुदायलाई दिइने उनीहरु बताउँछन् । ‘यहाँ विगतमा विभिन्न सङ्घसंस्थाले पनि उच्च धारा बनाएका छन्’ स्थानीय धनकला साउदले भने, ‘धारा बनाएर प्रयोगविहीन अवस्थामा रहेकाले उच्च धाराको दीर्घकालीन सदुपयोग रहने गरी संरक्षण र रेखदेख महत्वपूर्ण छ । समुदायलाई रेखदेखको जिम्मा दिए संरक्षण हुन्छ ।’

कैलालीको भजनीमा गत साउन १४ गते आएको बाढीले हजारौँ परिवार प्रभावित भएका छन् । बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये केही घर फर्किसकेका छन् । अझै करिब ३०० परिवार घर फर्कने वातावरण नभएपछि सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । भजनीका बाढी पीडितलाई छाक टार्नै मुश्किल भएको छ । ‘घर फर्केर बस्ने अवस्था छैन, जङ्गलमा पानी र शौचालयको समस्या छ’ बाढी पीडित रुपा विकले भने, ‘तीन बालबालिकासहित जङ्गलमा पालमुनी बसेकी छु । श्रीमान् भारतमा रोजगारी गुमाएर बसेका छन् । यहाँ पेट भर्न अन्नसमेत छैन ।’
 

प्रकाशित मिति: : 2020-09-05 09:19:51

प्रतिकृया दिनुहोस्