अंशु फातीको कीर्तिमानी गोलमा स्पेनले युरोपियन नेशन्स लिग फुटबलमा युक्रेनलाई पराजित गरेकाे छ।
आइतबार राति भएको खेलमा स्पेनले ४–० गाेल अन्तरले युक्रेनलाई पराजित गरेकाे हाे।
खेलमा अग्रता स्पेनले सर्जियो रामोसको दुई गोलमा लिएको थियो। तेस्रो मिनेटमा पेनाल्टीमा गोल गर्दै स्पेनलाई अघि बढाएका रामोसले २९ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई सहज अवस्थामा पुर्याएका थिए।
रामोसले पछिल्ला १५ खेलमा स्पेनका लागि १० गोल गरेका छन्। ३४ बर्षका डिफेन्डरले देशका लागि २३ गोल पुरा गरेका छन्।
खेलकाे ३२ औँ मिनेटमा फातीले गाेल गरेसँगै स्पेन ३–० ले अगाडी रह्याे।
खेल सकिन ६ मिनेट बाँकी रहदाँ फेरान टोरेसले भलिमार्फत स्पेनका लागि चौथो गोल गरेका थिए।
फातीकाे कीर्तिमान
फातीले सिनियर राष्ट्रिय टिमबाट ९५ वर्षको पुरानो कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन्।
पहिलो रोजाइमा मैदानमा उत्रिएका उनी १७ वर्ष ३ सय ११ दिन गोल गर्न सफल रहे।
फाती च्याम्पियन्स लिगको इतिहास र स्पेनिस लिगमा समेत सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन्।
गिनी बिसाउमा जन्मिएका फाती ५ बर्षको उमेरमा परिवारसहित स्पेन आएका हुन्। पछिल्लो बिहिबार मात्र उनले जर्मनीबिरुद्धको खेलमा डेब्यु गरेका थिए।
उनले राष्ट्रिय टिमबाट डेब्यु गरी पछिल्लो ८४ वर्षमा सबैभन्दा कम उमेरमा खेल्ने कीर्तिमान पनि बनाएका थिए।
यसअघि स्पेनको राष्ट्रिय टिमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान ख्वान एराज्क्वीनको नाममा थियो।
एराज्क्वीनले सन् १९२५ मा १८ बर्ष ३ सय ४४ दिनको उमेरमा स्विटरल्याण्डबिरुद्ध सबैभन्दा कम उमेरमा गोल गरेका थिए।
गत आइतबार बुल्गेरियाबिरुद्ध वेल्सबाट खेलेका एथम अमपादु सबैभन्दा कम उमेरमा प्लेइङ सेटमा रहेर खेलको खुरुवाती गर्ने खेलाडी थिए।
उनले सन् २०१८ मा १७ बर्ष ३ सय ५८ दिनको उमेरमा रिपब्लिक अफ आयरल्याण्डबिरुद्ध डेब्यु गरेका थिए।
अन्य खेलकाे नतिजा
नेशन्स लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा फिनल्याण्डले रिपब्लिक अफ आयरल्याण्ड, फारोइ आइल्याण्डले एण्डोरा तथा स्लोभेनियाले माल्डोभालाई समान १–० र ग्रिसले कोरोभोलाई २–१ तथा रुसले हंगेरीलाई ३–२ ले पराजित गरेका छन्।
यस्तै माल्टा र लात्भियाले १–१ तथा सर्बिया र टर्कीले गोलरहित बराबरी खेलेका छन्।