नेपालमा ‘अस्वस्थ छु’ भन्दै चुनाव जित्छन्, अमेरिकामा भने ‘अस्वस्थ्य हुनु’ चुनाव हार्नु हो

संजोग आचार्य

न्युयोर्क

नेपालीहरू निकै भावुक हुन्छन्। चुनावको बेला कुनै उम्मेदवारले मेरो स्वास्थ्य अवस्था ठिक छैन। कति बेला मर्नेबाच्ने हो थाहा छैन। एकपल्टलाई भोट दिएर मलाई जिताउनु होस् भन्यो भने सबैभन्दा बढी मत उसैले प्राप्त गर्छ।  

तर, अमेरिकामा यस्तो हुँदैन। अमेरिकामा कुनै उम्मेदवारले म रोगी छु। मलाई भोट दिनुस् भनेको खण्डमा उसले चुनावमा उठ्ने नैतिकता मात्र गुमाउँदैन, नमिठो पराजय भोग्ने निश्चित हुन्छ। त्यसैले अमेरिको राष्ट्रपतिको चुनावमा स्वास्थ्यको मुद्धा सधैं बलियो मानिन्छ। 

यसैले त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मौका पायो कि आफूलाई सुपरम्यानको रूपमा प्रस्तुत गर्ने गर्छन। उनी आफूलाई यस्तो व्यक्तिको रूपमा प्रस्तुत गर्न खोज्छन्, जोसँग निकै दम छ, जो कम समय मात्र सुत्छ, सायदै बिरामी हुन्छ र युवा अवस्थामा खेलकुदमा पनि अब्बल थियो। 
एक पल्ट उनले चिकित्सकहरूको भनाई भन्दै आफैंले स्वघोषित रूपमा आफूलाई अहिलेसम्मकै स्वास्थ्य राष्ट्रपति घोषणा गरेका थिए।
  
यतिबेला ट्रम्प ७४ वर्षमा टेकेका छन्। र, उनी दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतीय चुनावमा उत्रिएका छन्। उनको प्रतिद्धन्द्धी हुन्, ७७ वर्षीय जो वाइडेन। अमेरिकाको आगामी राष्ट्रपतिको चुनाव ३ नोभेम्बरमा हुँदैछ। यो चुनावमा यी दुईमध्ये कसैले जित हात पारे, उनीहरू अमेरिकाको अहिलेसम्मकै सबैभन्दा बृद्ध राष्ट्रपति बन्ने छन्। 

विगतमा पनि राष्ट्रपतिको चुनावमा स्वास्थ्य एउटा महत्वपूर्ण मुद्धा बन्ने गरेको सबैलाई थाहा भएको विषय हो। यसपालि पनि यो मुद्धाले चर्चा पाउन थालेको छ। यसको कारण हो, राष्ट्रपति ट्रम्पद्धारा आफ्नो प्रतिस्पर्धी वाइडेनको स्वास्थ्यलाई लिएर गरेको टिप्पणी। 

ट्रम्पले लगातार वाइडेनलाई ‘डिमेन्सिया’ को बिरामी भन्दै घेर्ने प्रयास गरिरहेका छन्। उनले गत सातामात्र तथ्य बिना वाइडेनमाथि आरोप लगाएका थिए। उनले वाइडेनलाई अस्वस्थ्य व्यक्ति भन्दै औषधि सेवन नगरि बाच्नै नसक्ने गम्भीर आरोप लगाए। चार वर्षअघि हिलारी क्लिन्टनमाथि पनि उनले यस्तै आरोप लगाएका थिए।

यसै साता फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले अमेरिकी राष्ट्रपति उम्मेदवारको ‘डिबेट’ कार्यक्रम भन्दाअघि वाइडेनलाई औषधिको टेस्ट गराउन आग्रह गरेका थिए। उनले २०१६ को चुनावमा क्लिन्टनलाई पनि यस्तै चुनौति दिएका थिए। क्लिन्टन जस्तै वाइडेनले पनि ट्रम्पको यो चुनौतिलाई अस्विकार गरिसकेका छन्।

आफ्ना प्रतिस्पर्धी वाइडेनलाई स्वास्थ्यको मुद्धामा घेर्ने प्रयास गरिरहेका ट्रम्पको स्वास्थ्यको पोल पनि हालै खुलेको छ। ट्रम्पका आलोचकहरूले हालै एउटा ट्वीट गर्दै उनको मानसिक र शारीरिक अवस्थाको विषयमा प्रश्न उठाएका थिए। ट्वीटमा प्रश्न गरिएको थियो, ‘तपाईंलाई बेलाबेलामा ‘मिनी स्ट्रोक्स’ भइरहन्छ, त्यो के हो?’ 

ट्रम्प सामान्य हद्यघातका कारण गत वर्षको नोभेम्बरमा कसैलाई थाहा नदिई मेरील्याण्डको वाल्टर रीड राष्ट्रिय सैन्य सेन्टरको अस्पतालमा भर्ना भएका थिए। ट्रम्पले यसलाई अस्विकार गर्दै आइरहेका छन्। तर, राम्रोसँग उत्तर भने दिन सकेका छैैनन्। यसले उनको स्वास्थ्यमाथि झन् ठूलो प्रश्न उठेको छ। 

सार्वजनिक केही समाचार अनुसार अस्पताल भर्ना भएको केही समयपछि ट्रम्प वेस्ट प्वाइन्टस्थित सैन्य एकेडेमीको एउटा समारोहमा भाग लिन पुगेका थिए। जहाँ उनी पानी पिउन गिलाससमेत उठाउन असमर्थ देखिएका थिए। पानी पिउनका लागि उनले दुई हातले गिलासलाई पकडिनु परेको थियो। उनलाई यतिबेला सिडी चढ्न डर लागेको मिडिया रिपोर्टमा बताइएको छ। 

न्युयोर्क टाइम्सका रिपोर्टर माइकल एस स्मिटले आफ्नो पुस्तक ‘डोनाल्ड ट्रम्प भर्सेस युनाईटेड स्टेट’ मा लेखेका छन्, वेस्ट प्वाइन्टस्थित सैन्य एकेडेमीको समारोहमा ट्रम्प अस्वस्थ्य भएकै कारण अतिरिक्त अतिथीको रूपमा माइक पोम्पियोको नाम समावेश गरिएको थियो। ‘यतिबेला ट्रम्पलाई एनेस्थिसियाको आवश्यकता पर्यो भने पोम्पियोले समारोहलाई यथास्थितिमा सञ्चालन गर्छन भनेर उनको नाम अतिरिक्त अतिथीको रूपमा राखिएको हो,’ किताबमा उल्लेख छ। 

ट्रम्प यो किताबलाई लिएर निकै आक्रोसित पनि भएका थिए। स्मिटको किताब पढेपछि पूर्व राष्ट्रपति बिल क्लिन्टनका प्रेस सचिव जो लोकहर्टले ट्वीट गरें, ‘के डोनाल्ड ट्रम्पलाई हद्यघात भइरहन्छ। यस्तो हो भने, अमेरिकी जनतलाई ट्रम्पले आफ्नो स्वास्थ्य अवस्थाको विषयमा जानकारी दिनुपर्छ।’  

लोकर्टको ट्वीटको उत्तर दिने क्रममा ट्रम्पले पनि ट्वीट गर्दै सबै दावी अस्विकार गरेका थिए। उनले ह्वाइट हाउसका फिजिसियनलाई आफ्नो ट्वीट फलो गर्न र आफूलाई कुनै किसिमको स्वास्थ्य समस्या नरहेको बताउन दबाब दिएको केही पत्रिकाले दावी गरेका थिए। 

वास्तवमा स्मिटको पुस्तक बाहिरिएपछि ट्रम्प आफ्ना प्रतिस्पर्धी वाइडेनको स्वास्थ्यलाई लिएर झन् बढी आक्रामक भएका हुन्। उनले चुनावी सभामा वाइडेनको स्वास्थ्यलाई लिएर लगातार प्रहार गरिरहेका छन्। उनी मतदातालाई वाइडेन बिरामी भएको बारम्बार बताउँदै आइरहेका छन्।
 
गत साता मात्र न्युयोर्क टाइम्सलाई दिएको एउटा अन्तर्वार्तामा ट्रम्पले आफ्नो स्वास्थ्यको विषयमा जानकारी दिएका थिए। त्यसमा उनले आफ्नो तौल विगतको तुलनामा अलिकति बढेको बताएका छन्। ट्रम्पले एक वर्षअघि आफ्नो तौल १ सय १० केजी भएको बताएका थिए।

‘यो अलिबढी नैै छ,’ उनले स्विकार गरेका छन्। यही अन्तर्वार्तामा उनले आफूलाई चिजबर्गर खुब मनपर्ने र खानाको रूपमा खाने गरेको बताए। उनले गल्फबाहेक अन्य एक्सरसाइजप्रति आफ्नो रुचि नरहेको स्पष्ट पारेका छन्। 

सन् २०१८ मा कोरोनरी क्याल्सियम सीटी स्क्यानमा पत्ता लागेको थियो, ७० वर्षभन्दा माथिका मानिसलाई हुने हद्यसम्बन्धि समस्या ट्रम्पमा पनि देखिएको छ। अब तपाईंहरू नै विचार गर्नुस्, हामी नेपाली कतिको भावुक हुन्छौं।

प्रकाशित मिति: : 2020-09-07 07:59:05

प्रतिकृया दिनुहोस्