ट्रम्पको रणनीतिः इराक र अफगानिस्तानबाट केही सेना फर्काउने तयारी

अमेरिकामा चुनावी गर्मी बढ्न थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानबाट केही सेना घर फर्काउने घोषणा गर्न सक्ने सम्भावना प्रबल भएको छ। 

उनले सन् २०१६ को चुनावमा छिमेकी मेक्सिकोको सीमामा पर्खाल लगाउने र युद्धग्रस्त इराक तथा अफगानिस्तानबाट आफ्नो सेना फर्काउने दुई महत्वपूर्ण वाचा गरेका थिए। 

पहिलो वाचा मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउने काम गत वर्षदेखि नै सुरु भइसकेको छ भने इराक र अफगानिस्तानबाट सेना फर्काउन उनी असफल छन्। तर, अब चुनावी गर्मी बढ्न थालेपछि उनले यस विषयमा छिट्टै घोषणा गर्ने सम्भावना बलियो छ। 

यी दुई देशमा कूल १४ हजार अमेरिकी सैनिक कार्यरत छन्। ट्रम्पले सेनाका परिवारसँग पहिलो चुनावमा प्रतिज्ञा गरेका थिए, उनीहरूलाई जसरी पनि युद्ध क्षेत्रबाट बाहिर निकाल्ने। 

ट्रम्पले प्रतिनिधित्व गरेको रिपब्लिकन पार्टीलाई पूर्व सेनाको ठूलो समर्थन छ। त्यसैले ट्रम्प मतदाताको रूपमा ठूलो मात्रामा रहेको सेनाको परिवारलाई आश्वस्त बनाउन पनि यो निर्णयमा पुग्ने सम्भावना मानिएको छ। 

केही समयअघि एटलान्टिक पत्रिकाले दावी गरेको थियो, दुई वर्षअघि फ्रान्सको भ्रमणमा हुँदा राष्ट्रपति ट्रम्पले प्रथम विश्व युद्धमा सहिद भएका अमेरिकी सैनिकहरूको स्मारकमा जान अस्विकार गरेका थिए। ट्रम्पले फ्रान्समा भएको सहिद स्मारकलाई ‘पराजित सैनिक’ भनेको पत्रिकाको दावी थियो। 

पहिलो विश्व युद्धमा सहिद भएका अमेरिकी सेनाको फ्रान्समा सहिद स्मारक छ। पत्रिकामा यो लेख प्रकासित भएपछि केही पूर्व सैनिकहरूले ट्रम्पको आलोचना गरेका छन्। राष्ट्रपतिका अर्का उम्मेदवार डेमोक्र्याटिक पार्टीका जो वाइडेनले पनि सहिद सैनिकको अपमान गरेको भन्दै ट्रम्पलाई सार्वजनिक माफी माग्न दबाब दिएका छन्। 

ट्रम्पले सेनाको ठूलो मत बिग्रिन सक्ने सम्भावनाका बीच इराक र अफगानिस्तानबाट केही सेना घर फर्काउन सक्ने सम्भावना बढेको छ। 
कोरोनाको राम्रो व्यवस्थापन गर्न नसकेको र ‘काला र गोरा’ बीच विभेद बढेको घटनापछि थपिएको सहिद सैनिकको अपमानको कुराले ट्रम्पको चुनौति झन् बढेर गएको छ। 

अमेरिकामा ३ नोभेम्बरमा चुनाव हुँदैछ। केही ‘ओपिनियन पोल्स’ ले राष्ट्रपतिको चुनावमा ट्रम्पपछि परेको तथ्यांक देखाएको छ। यो ट्रम्प समर्थकका लागि गहिरो चिन्ताको विषय हो। त्यसैले ट्रम्प पुनः बलियो स्थितिमा पुग्न ‘साम, दाम, दण्डभेद’ सबै उपयोग गरिरहेका छन्। 

इराकमा आतंकवादी आइएसआइएसको संगठन ध्वस्त बनाएपछि अमेरिका त्यहाँको राजनीतिक व्यवस्था ट्रयाकमा ल्याउन सक्रिय छ। उसले इराकी सरकारलाई सुरक्षा व्यवस्था बलियो बनाउन सहयोग गरिरकेको छ। 

इराकमा हाल ५२ सय अमेरिकी सैनिक सक्रिय छन्। अमेरिकाको बेस क्याम्प भएको ठाउँमा इरानलगायत केही इस्लामिक देशले बेलाबेलामा आक्रमण गरिरहेको हुन्छ। अधिकांश अमेरिकी इराकबाट आफ्नोे सेना घर फर्किएको हेर्न चाहन्छन् र उनीहरूको माग पनि छ। 

इराक पनि अन्य छिमेकी मुस्लिम राष्ट्रसँग सम्बन्ध बलियो बनाउन अमेरिकी सेना आफ्नो देशबाट फर्किएको हेर्न चाहन्छ। यसका लागि जुलुस पनि निस्किसकेको छ। इरान समर्थित इराकीहरू आफ्नो देशमा अमेरिकी सेना बसेको हेर्न चाहिरहेका छैनन्। 

इराकी नागरिकलाई अमेरिकाविरूद्ध उकासिरहेका इरानी जर्नेल सुलेमानीलाई अमेरिकाले यसै बर्ष एउटा मिसाइल हमलामा मारेको थियो। इराकमा कुनै बेला अमेरिकी सेनाको ६ बेस क्याम्प थियो। तर, सुरक्षाका कारण यसलाई घटाएर ३ बनाइएको छ। 

अफगानिस्तानमा पनि ८६ सय अमेरिकी सैनिक कार्यरत छन्। अमेरिकी रक्षा विभाग यो संख्या घटाएर ४ हजार बनाउन चाहन्छ। अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना बाहिर निकाल्न तालिबान तथा अफगानी सरकारसँग यसै वर्षदेखि वार्ता गरिरहेको छ। 

पछिल्लो समय कतारमा सम्पन्न वार्तामा तालिबानलाई आतंकवादको बाटो त्यागेर राजनीतिको मूलधारमा ल्याउन अमेरिकाले प्रस्ताव राखेको थियो।

वार्ता धेरै अर्थमा सफल भएपनि यसको कार्यान्वयन भएको छैन। यसैबीच अमेरिकी सेनालाई मार्न रुसले तालिबानलाई आर्थिक सहयोग गरिरहेको रिपोर्ट बाहिर आएको थियो।

प्रकाशित मिति: : 2020-09-10 07:14:42

प्रतिकृया दिनुहोस्