पोखरीमा गौमुखी धारा र शिवलिङ्ग स्थापना हुँदै

रासस

पाल्पा 
सांकेतिक तस्बिर

तानसेन नगरपालिका–२ नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ऐतिहासिक ठूलो पोखरीमा १०८ गौमुखी धारा र एउटा शिवलिङ्ग स्थापना हुने भएको छ। 

गत चैतदेखि गौमुखी धारा स्थापना गर्न पोखरीमा आधार तय गर्ने काम भइरहेको वडाध्यक्ष वरुणप्रसाद रेग्मीले बताए।

भदौ महिनाको अन्तिमसम्म ३० ओटा धारा जडान गर्ने र बाँकी धारा चालु आवको असारमसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ। गत आवको रु ३० लाख बजेटबाट अहिले काम भइरहेको छ। यस आवमा पोखरीकै लागि रु १० लाख बजेट नगरपालिकाबाट विनियोजन भइसकेको वडाध्यक्ष रेग्मीले बताए।

पाँच किलोको तौल र ११ इन्चको लम्बाइ भएको गौमुखी धारा जडान हुनेछ। धाराबाट निस्केको पानी नालीमा झर्ने र सो नालीमाथि फलामको जाली बिछ्याउने काम हुने छ। बहुवर्षीय योजनाअनुसार जीर्ण तथा फोहोर पोखरीको तल्लो भाग सम्याउने, भित्तालाई व्यवस्थित गर्ने, पोखरी सरसफाइ, प्रवेश गर्ने सिँढी, रेलिङ, ट्याङ्कीलगायतका काम सकिएको वडासदस्य महेश्वर श्रेष्ठले बताए। 

कोभिड–१९ का कारण योजना सम्पन्न गर्न केही ढिलो भएको छ। गौमूखी धारा जडानपछि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा अमरनारायण मन्दिरको थप पहिचान हुने स्थानीयवासीको जिकिर छ। यस कार्य पूरा हुँदा मुक्तिनाथको झल्को पाल्पाबाट दिइनेछ। अमरनारायण मन्दिर परिसरमा निर्माण गरिएको पूर्वाधारले पर्यटक आगमनमा वृद्धि हुने देखिएको वडा सदस्य शान्ति झेडीले बताए।

काजी अमरसिंह थापाबाट विसं १८६३ मा अमरनारायण मन्दिर र ठूलो पोखरी निर्माण भएको थियो। यस मन्दिर जिल्लाकै पर्यटकीय सम्पदाका रूपमा परिचित छ। अमरनारायण मन्दिरमा ऐतिहासिक काष्ठकलाको बेजोड प्रस्तुति देखिन्छ। स्वदेशी तथा विदेशी पर्यटकहरु काष्ठकलाका प्रस्तुतिले लोभिन्छन र मन्दिर सेरोफेरोमा टहलिन बाध्य हुन्छन्। 

यस मन्दिरमा भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा छ। मन्दिर सञ्चालन गर्न गुठीको व्यवस्थासमेत गरिएको छ। काजी अमरसिंहले वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी अमरनारायणको मन्दिर निर्माण गराएका थिए। 
 

प्रकाशित मिति: : 2020-09-11 10:34:52

प्रतिकृया दिनुहोस्