ट्रम्पको ११० करोड डलरको ‘चुनावी फण्ड’ कसरी ३० करोडमा झर्‍याे?

‘चुनावी फण्ड’ मा केही महिनाअघिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प निकै अगाडि थिए, आफ्ना प्रतिद्धन्द्धी जो वाइडेनभन्दा। यो त्यस्तै अवस्था थियो, सन् २०१२ मा बाराक ओबामा र २००४ मा जर्ज बुसको अभियान जस्तै। सन् २०१६ को चुनावमा राष्ट्रपति ट्रम्पले निकै पैसा खर्च गरेका थिए। तर, अब स्थिति फेरिएको छ। 

जतिबेला वाइडेन डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बन्न लागेका थिए, त्यति बेला रिपब्लिकन पार्टीसँग २० करोड डलरको ‘चुनावी फण्ड’ को अग्रता थियो। अहिले त्यो अवस्था उल्टिएको छ। 

सन् २०१९ देखि सुरु भएको चुनावी अभियानअन्तर्गत जुलाई महिनासम्म ट्रम्पसँग ११ अर्ब डलरको ‘फण्ड’ थियो। अहिले ८० करोड खर्च भइसकेको छ। अब उनको चुनावी अभियानकर्तालाई यो डरले सताउन थालेको छ, चुनाव आउन २ महिना बाँकी हुँदा आवश्यक पर्ने ठूलो रकम कहाँबाट जुटाउने? किनभने बाँकी रहेको पैसाले चुनावी अभियानलाई अन्त्यसम्म तान्न निकै गाह्रो छ। 

जुलाईसम्म ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्रेड पार्सकेल थिए। तर, यसबीच अत्याधिक पैसा खर्च भएपछि उनलाई हटाएर बिल स्टेपिनलाई नयाँ व्यवस्थापक नियुक्त गरिएको छ।

ब्रेडले व्यवस्थापनबाट बाहिरिनुअघि ट्रम्पको चुनावी मेशनरीलाई रोक्न नसकिने दावी गरेका छन्। तर, राष्ट्रपतिका पुराना र नयाँ सहयोगी ब्रेडले ‘चुनावी फण्ड’ लाई ‘पानी जस्तै’ बगाएको आरोप लगाएका छन्।  

स्टेपिनको नियुक्तिसँगै खर्चमा केही कटौती गरिएको छ। प्रचारको रणनीतिलाई परिवर्तन गरिदैंछ। पार्सकेलको कार्यकालमा ३५ करोड डलर खर्च भएको थियो। यो जुलाईसम्म खर्च भएको ८० करोडमा आधा मानिएको छ। अहिलेसम्म नयाँ ‘डोनर’ प्राप्त भएको छैन। कानुनी मुद्धामा निकै खर्च भएको छ। टेलिभिजन विज्ञापनमै १० करोड डलर खर्च गरिएको छ। 

‘सुपर बाउल’ को दुईवटा भिडन्तलाई प्रचारको माध्यम बनाइएको थियो। यसमा १ दशमलव १ करोड डलर खर्च भएको थियो। यो केही राज्यमा टेलिभिजनमा गरिएको खर्चभन्दा धेरै थियो। महंगा विशेषज्ञहरू नियुक्त गरिएको छ। यसमा १५ दशमलव ६ लाख डलर खर्च भएको छ।

सेलफोन राख्नका लागि मेग्नेटिक पाउच निर्माणमा मात्र योडर कम्पनीसँग ११ लाख डलरको सम्झौंता गरिएको छ। यसको अर्थ हो, डोनर्सले थाहा नदिइकन ट्रम्पको कुरा रेकर्ड गर्न नसकुन। 

श्रोतका अनुसार अभियानका पूर्व व्यवस्थापक पार्सकेलले यही पैसाबाट कार खरिद गरेका थिए र उनी ड्राइभरलाई पनि ‘चुनावी फण्ड’ बाटै पारिश्रमिक उपलब्ध गराउँथे। यो गैरकानुनी थियो। पार्सकेललाई हटाएर स्टेपिनलाई व्यवस्थापक नियुक्त गरेपछि ट्रम्पले उनको तारिफ गरेका छन्। उनले भनेका छन्, ‘स्टेपिनले कम तलब लिएका छन्।’

विशेषज्ञको भनाईमा ट्रम्पको अभियान दलका मानिसहरू ठिक छैनन। अहिले स्थिति यस्तो बनिसकेको छ, वाइडेन ‘फण्ड’ जम्मा गर्ने कुरामा ट्रम्पभन्दा अगाडि निस्किएका छन्। वाइडेनले अगस्ट महिनाभित्र ३६ दशमलव ५ करोड डलर चन्दा उठाइसकेका छन्।। तर, ट्रम्पको अभियान दलका नेताहरूले अगस्टको तथ्यांक सार्वजनिक गरेका छैैनन्। 

रिपब्लिकन पार्टीका वरिष्ठ सदस्य एड रोलिन्स भन्छन्, ‘८० करोड डलर खर्च गरेर  १० अंकले पछाडि परेपछि प्रश्न त उठ्छ नै। यसको उत्तर पनि दिनुपर्ने हुन्छ। पूर्व व्यवस्थापकले गजेडी जस्तै पैसा उडाए।’तर, पार्सकेल आफ्नोे निर्णयको बचाउ गर्दै भन्छन्, ‘२०१६ मा पनि यसरी नै चुनावी अभियान सञ्चालन भएको थियो।’

तर, रोचक कुरा सन् २०१६ को चुनावमा उनी अभियान दलमा समावेश नै थिएनन। नयाँ व्यवस्थापकको रूपमा नियुक्त हुने वित्तिकै स्टेपिनले ५ दशमलव ३ करोडको दुई वटा प्रस्ताव खारेज गरेका छन्। अब अभियान दलका सदस्यहरूले आवश्यक ठाउँको मात्र यात्रा गर्नेछन्। अमेरिकी राष्ट्रपतिको एयरफोर्स वनबाट यात्रा गर्ने सबै मानिसको इच्छा हुन्छ। यो इच्छामा पनि अंकुस लगाइएको छ। 

स्टेपिनले भनेका छन्, ‘सबैभन्दा आवश्यक कुरा हरेक दिनको बजेट अनुसन्धान गर्नुपर्ने हुन्छ।’

उनले ‘चुनावी फण्ड’ कम भएपनि यसबाट राम्रो प्रचार–प्रसार गर्न सकिने बताएका छन्। अगस्ट महिनाको अन्तिम दुई सातामा वाइडेनले टिभी विज्ञापनमा ३ दशमलव ५९ करोड डलर खर्चेका थिए। जुन ट्रम्पले खर्चेको ४८ लाख डलर भन्दा निकै बढी थियो। 

ट्रम्पका एक सहयोगी जेसन मिलर भन्छन्, ‘अहिले हामीलाई पैैसा बचाउनु पर्ने आवश्यकता छ। अन्तिम क्षणमा आक्रामक प्रचार गर्न ठूलो मात्रामा पैसा आवश्यक पर्ने गर्छ।’ कोरोना चरममा हुँदा वाइडेनले प्रचारमा निकै कम पैसा खर्चिए। ट्रम्पले त्यसो गरेनन्। 

विज्ञहरूका अनुसार अन्तिम दुई महिनामा थुप्रै पैैसा उठ्ने सम्भावना छ। टेलिभिजन विज्ञापनमा पनि कम खर्च हुनेछ। अनलाइनमा खर्च बढ्ने सम्भावना छ। घरघरमा जाने अभियान सुरु हुनेछ। वाइडेनको टिमले यो अभियान सुरु गरिसकेका छन्। उनले थोरै जनसंख्या भएको राज्यमा यही रणनीति अपनाएका छन्। पार्सकेलले फेसबुक र इन्स्टाग्राममा ८ करोड डलर खर्चेका थिए। अहिले यो बन्द भएको छ। पार्सकेल भन्छन्, ‘ट्रम्पको परिवारकै यस्तो योजना थियो।’

विस्किन्सनमा ३९ लाख, मिसिगनमा ३६ लाख, आयोवामा २० लाख र मिनेसोटामा १३ लाख डलर टेलिभिजन विज्ञापनमा मात्र खर्च भएको थियो। 
रिपब्लिकन पार्टीकै एक सदस्य भन्छन्, ‘पैसा कमाउन, खर्च गर्न पनि जान्नु पर्छ।’

सन् २०१६ को जुलाईमा ट्रम्पले १६ दशमलव ५ करोड डलर जम्मा पारेका थिए। चुनावी अभियान सञ्चालन गर्ने दुई कम्पनीलाई गत वर्ष ३ करोड डलर भुक्तान गरिएको थियो। पहिले रिपब्लिकन पार्टी आफ्नो कन्भेन्सन एमेलिया आइल्याण्डमा गर्ने गथ्र्यो। यसका लागि रिट्ल कार्लटनलाई ३ दशमलव २५ लाख डलर भुक्तान गरिसकेको छ। अब ट्रम्पको अभियान दलका सदस्यलाई त्यो पैसा फिर्ता हुने आशा छ।

न्युयोर्क टाइम्सबाट 

प्रकाशित मिति: : 2020-09-12 09:26:00

प्रतिकृया दिनुहोस्