फ्रन्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपर स्टार नेयमार कोरोना मुक्त भएका छन्।
ब्राजिलियन स्टार नेयमारले शुक्रबार ट्वीटरबाट आफु कोरोना मुक्त भएको बताएका हुन्। उनमा १० दिन अघि कोरोना संक्रमण देखिएको थियो।
‘म अभ्यासमा फर्केको छु। एकदमै खुसी। कोरोना आउट,’ नेयमारले ट्विट गरेका छन्।
सेप्टेम्बर २ मा नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसमा कोरोना संक्रमण देखिएको थियो। त्यसकाे केही दिन पछि अर्का सुपर स्टार केलियन एमबाप्पेलाई पनि संक्रमण देखिएको थियो।
उनीहरु आइसोलेसनमा बसेका छन्।
सन् २०१७ मा बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका नेयमारले टोलीका लागि ८५ खेलमा ७० गोल गर्नुका साथै ४१ एसिस्ट गरेका छन्। पीएसजी पुगेर उनले तीन वटा लिग वन, दुई वटा फ्रेन्च कप र दुई पटक फ्रेन्च लिग कप जितेका छन्।
नेयमारको उच्च प्रदर्शनबाट प्रेरित पीएसजी गत सिजन क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। फाइनलमा पुगेको पीएसजी बायर्नसँग १-० ले पराजित भएको थियो ।