ओली-प्रचण्डको अपानीका रोचक बुँदा : अब विवाद नमच्चाउनेदेखि सांसदको जीवनशैली सुधार्नेसम्म 

याेगेश ढकाल

काठमाडौं

पार्टीभित्र देखा परेका विवाद र मतभेदलाई आगामी दिनमा नदोहोर्‍याउने प्रतिवद्धतासहित नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले अन्तरपार्टी निर्देशन (अपानी) जारी गरेका छन् ।  २९ भदौमा जारी अपानीमा २६ भदौको स्थायी कमिटीको बैठकलाई आगामी दिनमा पुराना विवाद ननिकाल्ने प्रतिवद्धताको प्रस्थानविन्दु अर्थात् निश्चित समय निर्धारण गरेका हुन् ।

दुबै अध्यक्षले २६ भदौको स्थायी समितिको पाँचौ बैठक सकिएको दिनलाई पुरानो विवादतर्फ नफर्कने निश्चित गरिएको दिनको रूपमा व्याख्या गरेका छन् । ओली-प्रचण्डले जारी गरेको अपानीमा भनिएको छ, ‘पार्टीभित्र देखा परेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौ बैठक समापनको २६ भदाै २०७७ लाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने ।’

त्यसैगरी, अध्यक्षद्धयले आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्ने  र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्ने प्रतिवद्धता पनि उल्लेख गरेका छन् । साथै, गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन नदिने र अनेकता, अराजकता, अनुशासनहीनता र गुटबन्दी गर्ने कार्यलाई अनुशासनात्मक कारबाहीको विषय बनाउने र पार्टी विधानबमोजिम कारबाही गर्ने अपानीमा उल्लेख छ । 

प्रकाशित मिति: : 2020-09-15 12:03:24

प्रतिकृया दिनुहोस्