नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण पदक जित्दा टोलीका सदस्य रहेका फरवार्ड राजेश परियारले भारतको दोस्रो श्रेणी लिग, आई लिग-२ खेल्ने भएका छन्।
राजेशले लिग अवधिभरका लागि अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबसँग सम्झौता गरेका हुन्। उनी प्रतियोगितामा सहभागिता जनाउन यसै साता भारत प्रस्थान गर्दैछन्। २० वर्षीय राजेशले गत सिजन न्यू रोड टिम (एनआरटि) का लागि ए डिभिजन खेलेका थिए।
एन्फा एकेडेमीका उत्पादन राजेशले उमेर समूहमा पनि नेपालको प्रतिनिधित्व गरिसकेका छन्। राजेशले सागमा भुटानविरुद्ध फाइनल खेलमा समेत खेलेका थिए।
उमेर समूहबाट नेपालका लागि खेल्दै आएका उनको खेलबाट प्रभावित भएपछि क्लबले उनलाई अनुबन्ध गरेको हो । अनुबन्ध रकम भने खुलाएका छैनन्।
राजेशलाई अनुबन्ध गरेको टिम अरा एफसी लिगअन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा छ । कोरोना महामारीका कारण भारतमा दोस्रो डिभिजनको लिग स्थगित भएको थियो । राजेश सेप्टेम्बर १७ मा भारत जाँदैछन् ।
यसअघि राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजालले पनि दोस्रो श्रेणीको क्लब मोहमडन फुटबल क्लबसँग सम्झौता गरिसकेका छन्।