नवाज सरिफलाई तत्काल हाजिर हुन पाकिस्तानी उच्‍च अदालतको आदेश

एजेन्सी

इस्लामाबाद

भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पाकिस्तानको उच्च अदालतले अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

अदालतका उच्च अधिकारीले पदच्युत भएका नवाज सरिफलाई अदालतमा हाजिर गराउन बिहीबार विदेश मन्त्रालयसमक्ष आग्रह गरेको हो । स्वास्थ्य उपचारका लागि भन्दै कारागारबाट बिदा लिइ बेलायत पुगेका ७० वर्षीय नवाज सरिफ यतिबेला बेलायतको लण्डनमा छन् ।

गत वर्षको नोभेम्बरदेखि नै बेलायतमा रहेका उनी बिदाको अवधि सकिँदा समेत पाकिस्तान फर्किएका छैनन् । अदालतका अनुसार उनी बेलायतबाट पाकिस्तान फर्केर कारागार जानुअघि अदालत हाजिर हुनुपर्छ ।

अदालतले उनलाई उपचारका लागि जम्मा ४ हप्ताको बिदा दिएको थियो । तर हालसम्म पनि थप उपचारको कारण देखाउँदै उनी लण्डनमा रहँदैआएका छन् । सरकारले भने गत महिना नवाज सरिफविरुद्ध ‘फरार अपराधी’को घोषणा गरेको थियो ।

तीन पटकसम्म प्रधानमन्त्री बनेका उनी छोरी मरियम र ज्वाइँसँगै राज्यको सम्पत्ति हिनामिना गरेको र भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहरिएका हुन् । २०१८ देखि नै उनले ७ वर्षको जेलसजाय भोग्दैआएका छन् । अदालतका उच्च अधिकारीले बेलायतस्थित पाकिस्तानको दूतावासमा पत्र पठाउँदै उनलाई अदालतमा हाजिर गराउनुपर्ने जनाएका छन् ।

 

 

प्रकाशित मिति: : 2020-09-18 14:06:32

प्रतिकृया दिनुहोस्