सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरे डाँडा ‘ल्याण्डफिल साइट’ निर्माणको काम दशैं अगाडि नै सकिने बताएका छन्।
काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने नुवाकोट–धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधीन साइट निर्माणको काम दशैंअगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले जानकारी दिएका हुन्।
निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सकिएको जानकारी दिँदै अब केही दिन भित्रै सबै निर्माण कार्य सकिने बताएका हुन्।
ल्याण्डफिल साइट निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले बर्खाको समय र लकडाउनका कारण केही ढिला भएपनि अहिले काममा तीव्रता आएकोले दसैं अगाडि सकिनेमा आफूहरू विश्वस्त रहेको बताए।
बन्चरेडाडाँमा ल्याण्डफिल साइट निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिँदा साइट भरिएको छ।
त्यसैले बन्चरेडाडाँमा पनि त्यही समस्या दोहोरिने आशंका स्थानीयले गरेका छन्।
बञ्चरे डाँडामा सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तीमा ५० वर्षका लागि उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने मन्त्री मानन्धरले जानकारी दिए।