भिडालकाे सम्झौताले आज अन्तिम रुप पाउने

स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर अटुरो भिडाल इटालियन क्लब इन्टर मिलान जाने भएका छन्।

२०१८ मा जर्मन महारथी बायर्न म्युनिखबाट भिडाल तीन वर्षको सम्झौता गर्दै बार्सिलोना आएका थिए। 

बार्सिलोनामा उनको सम्झौता अर्को वर्षको समरसम्म रहेको छ। तर, नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले भिडाललाई आफ्नो योजनामा नरहेको भन्दै अन्यत्र जान सुझाव दिएका थिए। त्यसै अनुरुप भिडालले मिलान जाने निर्णय गरेका हुन्।

३३ वर्षका चिलेका खेलाडी भिडाल स्वास्थ्य परीक्षण र औपचारिकता पूरा गर्न इटाली पुगिसकेका छन्। मिलानमा अनुबन्धनको प्रक्रियाका लागि सोमबारदेखि भिडालको मेडिकल सुरु भएको छ। 

मेडिकलको प्रक्रिया सकिएसँगै मंगलबारभित्रै सम्झौताले अन्तिम रुप पाउने जनाइएको छ।

भिडाल प्रशिक्षक एन्टोनिओ कोन्टेसँग पुनः सँगै हुने भएका हुन्। उनीहरुले युभेन्ट्समा रहँदा सँगै तीनपटक सिरी ए को उपाधि जितेका थिए।

उनले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका छन्। यसै सिजनमा डच मिडफिल्डर फ्रान्की डि जोङको आगमनसँगै भिडाललाई बार्सिलोनामा पहिलो रोजाईमा पर्न निकै संघर्ष गर्नुपरेको थियो। सोही कारण पनि बार्सिलोनाले भिडाललाई बेच्ने तयारी गरिरहेको थियो।

मिलानले आउँदो शनिबार फिओरेन्टिनासँगको खेलबाट नयाँ सिजनको सुरुवात गर्ने छ।

प्रकाशित मिति: : 2020-09-22 06:40:01

प्रतिकृया दिनुहोस्