समयमा उपचार नपाई मृत्यु

रासस

कनकाई
सांकेतिक तस्बिर

अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ। 

झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो।

श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो। बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो। 

कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समयमा उपचार नपाएकै कारण तिम्सिनाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्रममा गरेको स्वाब सङ्कलनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ। कोरोना सङ्क्रमण पुष्टि भएपछि तिम्सिनाको सोमबार बेलुका ८ बजे झापाको कनकाई घाटमा परिवारका सदस्य र आफन्तजनका साथमा नेपाली सेनाले दाहासंस्कार गरेको बताइएको छ।

स्व तिम्सिनाका छ छोरा र चार छोरी छन्। स्व तिम्सिनाका ज्वाइँ दयाराम दाहाल (सुलभ) राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको सदस्य तथा प्रेस सङ्गठन नेपालका केन्द्रिय सदस्य छन्। स्व तिम्सिनाका कान्छा छोरा सुजन नेपाल पत्रकार महासङ्घ इलाम शाखा उपाध्यक्ष छन्  भने छोरी सृजना महासङ्घ ललितपुर शाखा उपाध्यक्ष छन्। त्यस्तै छोराहरू वासुदेव र गणेश तथा छोरीहरू मन्जु र  निर्मला पनि विभिन्न सञ्चार माध्यममा आवद्ध छन्।

प्रकाशित मिति: : 2020-09-22 09:04:15

प्रतिकृया दिनुहोस्