नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द मंगलबार इन्डोनेसिया जाने भएका छन्।
इन्डोनेसियाको लिगमा पर्सिजा जाकार्ताबाट खेल्ने रोहित आज राति साढे १० बजे त्यसतर्फ प्रस्थान गर्ने उनका एजेन्ट तथा दाइ रोविन चन्दले जानकारी दिए।
‘पीसिआर परीक्षण रिपोर्ट आज आउँदैछ। उनी मलेसियाको राजधानी क्वालालम्पुर हुँदै इन्डोनेसिया जानेछन्,’ रोविनले भने।
कोरोना भाइरस महामारीका कारण इन्डोनेसियाको लिग रोकिएपछि रोहित असार दोस्रो साता नेपाल फर्किएका थिए।
त्यहाँको फुटबल संघले एउटा छुट्टै टापु (जाभा आइल्याण्ड)मा लिगका बाँकी खेल गराउने गरी तयारी गरिरहेको छ।
लिग सुरु हुने मिति टुङ्गो नलागे पनि अक्टोबरमा लिग फेरि सुरु गर्ने तयारी भइरहेको छ।
रोहित समावेश टिम पर्सिजा जाकार्ताले लिगका लागि प्रशिक्षण सुरु गरिसकेको छ।
रिपोर्ट नेगेटिभ आएमा त्यो ४८ घण्टासम्म काम लाग्ने छ। रोहित इन्डोनेसिया पुगेपछि टिमको प्रशिक्षणमा समेत सामेल हुन सक्नेछन्। अन्यथा रोहित दुई साता क्वारेन्टाइनमा बस्नुपर्नेछ।
रोहितको सनसनीपुर्ण प्रदशर्नसँगै जकार्ताले सन् २०१८ मा लिगको उपाधि समेत हात पारेको थियो। त्यस सिजन रोहित सवोक्रिष्ट खेलाडी घोषित भएका थिए।
रोहित लिगमा एसियन कोटाबाट खेलिरहेका हुन्।