राप्रपाको कार्यसम्पादन समितिको बैठक सम्पन्न, पार्टी झण्डामा गाई र चुनाव चिन्ह हलो रहने

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरण भएपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी झण्डामा गाई र चुनाव चिन्ह हलो राख्ने सहमति भएकाे छ।

मंगलबार अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा प्रकाशचन्द्र लोहनीसहित बरिष्ट नेता सहभागी बैठकले पार्टी झण्डामा गाई र चुनाव चिन्ह हलो राखेर दल दर्ताको लागि निर्वाचन आयोगमा जाने सहमति गरेकाे राप्रपाका नेता किशोरबहादुर कार्कीले बताए।

उनका अनुसार राजसंस्थासहितको हिन्दूराष्ट्र मूल लक्ष्य, साविकको राप्रपाको विधान हाल एकीकृत राप्रपा अन्तरिम विधान कायम गरिने, पार्टीको एकता महाधिवेशन आगामी बैशाखको २५ देखि २८ सम्म काठमाडौंमा हुने, राप्रपाको झण्डा साविकको राप्रपाले प्रयोग गरिरहेको गाई अंकित झन्डा रहने र चुनाव चिन्ह साविकको राप्रपा (संयुक्त) ले प्रयोग गरेको हलो हुनेछ।

गत फागुन २४ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच एकताका लागि आधार पत्रमा हस्ताक्षर गरिएको थियो। सोही अनुसार फागुन २९ मा पार्टी एकता भएको थियो। तर, छ महिनाभित्र चुनाव चिह्न टुंगाे लगाउने सहमति गरिएकाे भएपनि चुनाव चिन्ह गाईं राख्ने वा हलाे भन्ने विषयमा सहमति जुट्न सकेको थिएन।

बैठकपछि अध्यक्षत्रयले मुलुकमा नयाँ राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भएको भन्दै सबैलाई बधाई तथा शुभकामना दिएका थिए।

प्रकाशित मिति: : 2020-09-22 16:57:17

प्रतिकृया दिनुहोस्