‘चिट’ चोरेपछि युभेन्ट्स जाने सुआरेजको सपना अधुरो, स्वतन्त्र मूल्यमा एथ्लेटिकोमा अनुबन्ध

क्याटलान क्लब बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड जाने भएका छन्। 

एथ्लेटिकोले सुआरेजका लागि बार्सिलोनालाई चार मिलियन युरो मात्रै तिर्ने जनाइएको छ। यस्तै उनले बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरेकोमा एथ्लेटिकोमा त्यसको आधा पाउने छन्।

यसअघि सुआरेजले इटालीको नागरिकता पाउन समय लाग्ने भएपछि युभेन्ट्सले हात झिकेको थियाे। सोही कारण उनी अर्को स्पेनिस क्लबसँग जोडिएका हुन्। 

यसका लागि बार्सिलोनाले उनलाई प्रतिस्पर्धी टिममा जान स्वीकृति दिएको छ।

३३ वर्षीय सुआरेज बार्सिलोनामा बस्न चाहेका थिएनन् र कल्ब पनि उनलाई बिदा गर्न तयार भएको हो। बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जानू भन्ने आदेश दिएको छ।

पासपोर्ट सम्बन्धी समस्याका कारण इटालियन सिरी ए क्लब युभेन्टससँगको सम्झौता प्रयास असफल भएपछि सुआरेज पारिश्रमिक घटाएर एथ्लेटिकोमा जान तयार भएका हुन्।

त्यसअघि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले सुआरेजको सम्झौतामा रोक लगाएका थिए। उनलाई कुनै पनि स्पेनिस शीर्ष क्लब जान आदेश दिइएकाे थिइएन। 

तर,सुआरेजले आफूलाई जान नदिएमा मिडियामा जाने चेतावनी दिएपछि बार्सिलोना अध्यक्ष आफ्नाे निर्णयबाट एक कदन पछि हटेका थिए। बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जान दिएको हो। त्यसपछि सुआरेजले एथ्लेटिकोका प्रतिनीधिहरुसँग भेट गरेका थिए। 

६ वर्ष बार्सिलोनामा रहेका उनले २८३ खेलमा १९८ गोल गरेका छन्।

भाषा परीक्षामा चोरिको आरोप 

सुआरेजले इटालियन नागरिकताको लागि आवेदन दिने क्रममा सहभागी भएको परीक्षामा चोरी गरेको आरोप लागेको छ। यस सम्बन्धमा इटालियन पुलिसले विस्तृत छानविन थालेको छ।

सुआरेज इटालियन बोल्न जान्दैनन्। उनलाई पूरा वाक्य प्रष्ट जोड्न पनि कठिन हुन्छ। पत्रकारले सामान्य प्रश्न सोधेपनि उनलाई जवाफ फर्काउन कठिनाइ छ।

सुआरेजकी पत्नीको पूर्वजहरु इटालीकै भएका कारण उनले नागरिकता लिन भाषा परीक्षामा उतिर्ण भए पुग्ने थियो।

सुआरेज गत साता पेरुजिया पुगेर इटालियन भाषा परीक्षामा सामेल भएका थिए। युभेन्टसले सुआरेज अनुबन्ध गर्न इच्छा देखाएपछि उनी नागरिकता लिन परिक्षामा उपस्थित भएका थिए। 

इटालियन संचारमाध्यमका अनुसार सुआरेजले परीक्षा दिनुअघि नै प्रश्न प्राप्त गरेका थिए। त्यसैले सामान्यतया २ घण्टा लाग्ने परीक्षा ३० मिनेट नबित्दै सकिएको प्रहरी स्रोत उदृत गर्दै इटालीको रिपब्लिका पत्रिकाले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-23 07:11:07

प्रतिकृया दिनुहोस्