दीपिकापछि दिया मिर्जा र नम्रता सिरोडकरको पनि ड्रग्समा नाम

एजेन्सी

मुम्बई

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँगै दिया मिर्जा र नम्रता सिरोडकरको नाम पनि ड्रग्स लिने अभिनेत्रीको सूचिमा समावेश भएको छ। 

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को छानवीनको क्रममा थुप्रै बलिउड कलाकारको नाम ड्रग्स खरिद गर्ने मुद्धामा आएको थियो। यसअघि सारा अली खान, श्रद्धा कपुर र रकुल प्रित सिंहको नाम सार्वजनिक भएको थियो। 

एनसीबीले दीपिकाको म्यानेजर करिश्मालाई छानवीनमा सहयोग गर्न पत्र पठाइसकेको छ। उनले स्वास्थ्यको कारण देखाउँदै २५ तारिखसम्म उपस्थित हुने जवाफ पठाएकी छिन्। 

अन्य कलाकारको हकमा छिट्टै पत्र पठाउने तयारी भइरहेको छ। दीपिकाले आफूमाथि लागेको आरोपको खण्डन गरेकी छैनन्। फिल्मको सुटिङका लागि गोवा पुगेकी दीपिका आफू बसेको फार्म हाउसबाट बाहिर निस्किएकी छैनन्। उनी वकिलहरूसँगको सम्पर्कमा भएको भारतीय मिडियाले बताएका छन्। 

दिया मिर्जाले भने सोसल मिडियामार्फत आफूमाथि लागेको आरोपमा सत्यता नभएको बताएकी छिन्। उनले आफूले कहिल्यै ड्रग्स सेवन नगरेको स्पष्टीकरण दिएकी छिन्।

प्रकाशित मिति: : 2020-09-23 17:26:14

प्रतिकृया दिनुहोस्