स्याङ्जा पहिरो अपडेट : पाँचको शव निकालियो, चार अझै बेपत्ता

स्याङ्जाको वालिङमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ। 

बिहिबार बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए। 

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली छन्। 

अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ। अन्य चार जना अझै बेपत्ता छन् । एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गहौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-24 10:11:35

प्रतिकृया दिनुहोस्