कोेरोना परीक्षण ल्याब पूर्ण क्षमतामा चलाउन र रिपोर्ट छिटो दिन सुझाव

कोरोना संक्रमण परीक्षण गरेपछि छिटो रिपोर्ट दिने व्यवस्था मिलाउन कोभिड १९ को रोकथाममा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिले सुझाव दिएको छ।

सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले बिहीबार आफ्ना सुझाव संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीलाई बुझाएको छ ।

सुझावमा पीसीआर रिपोर्ट तत्काल प्रदान गर्न देशभरका ल्याबलाई एकीकृत रुपमा समन्वय गर्न र पीसीआर ल्याब क्षमताअनुसार सञ्चालन गर्न भनिएको छ ।

ल्याबमा दक्ष जनशक्ति व्यवस्था गर्न र पूरा समय मेसिन चलाउन पनि उपसमितिले सुझाव दिएको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत संक्रमितलाई पीसीआर रिपोर्ट छिटो जानकारी गराउन पनि उपसमितिले सुझाव दिएको छ ।

उपसमितिले होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्यकर्मीले नियमित निगरानी गर्ने व्यवस्था गर्नुपर्ने, कोरोना विशेष अस्पतालमा दक्ष जनशक्ति, आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिएको छ ।

त्यस्तै क्वारेन्टिनमा रहने बिरामीलाई खानाको लागि तोकिएको १७५ रुपैयाँ अपुग भएकाले बढाउनुपर्ने, कोभिड आइसोलेसन सञ्चालन गर्न अनुमति दिँदा मापदण्डअनुसार खानाको मेनु सम्झौता गर्नुपर्ने, कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम भत्ता दिन समितिको सुझाव छ।

अस्पतालहरुमा कोरोना भाइरस संक्रमितबाहेक अन्य बिरामीको सहज उपचारको व्यवस्था मिलाउनुपर्ने सुझाव पनि समितिले दिएको छ ।

पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्नुपर्दा आफ्नो नियमित आम्दानी गुमाएकाले सरकारले अनुदान दिनुपर्ने पनि उपसमितिको सुझाव छ ।

कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीनै संक्रमित भई आइसोलेसनमा बस्नुपर्ने भएका कारण वैकल्पिक स्वास्थ्यकर्मीको योजना बनाउने, स्वास्थ्यकर्मीलाई गुणस्तरीय पीपीई उपलब्ध गराउन, शव व्यवस्थापनका लागि मर्चरी हाउसको क्षमता बढाउन, कोभिड संक्रमितको मृत्युदर बढेका बेला पनि सहज रुपमा शव व्यवस्थापन हुने गरी तयारी गर्न पनि उपसमितिको सुझाव छ।

प्रकाशित मिति: : 2020-09-24 14:25:08

प्रतिकृया दिनुहोस्