पोखरामा भर्चुअल माध्यमबाट ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि बन्दाबन्दी खुकुलो भएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाले ट्राफिक सचेतना सम्बन्धि भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरेको छ । 

सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी शुरु गरिएको ट्राफिक सचेतनामूलक कार्यक्रम कास्की जिल्लाका चार वटा विद्यालयमा सम्पन्न  भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।

यहीँ असोज दुई गतेदेखि सञ्चालन भएको भर्चुअल माध्यमबाट ट्राफिक सचेतना सम्बन्धी कार्यक्रममा पोखरा महानगरपालिका– ७ मासवारस्थित मदरल्याणड उच्च मावि, पोखरा –१७ स्थित शिशुु निकेतन उच्च मावि,  पोखरा –२७ स्थित त्रिवेणी पब्लिक उच्च मावि र पोखरा–१४ चाउथेस्थित कास्की मोर्डनाईज्ड एकेडेमीका कक्षा १० र १२ मा अध्यनरत ४७२ विद्यार्थीलाई सडक अनुशासन, सवारी दुर्घटना न्यूनीकरण, स्कटुर तथा मोटर साइकलजस्ता साना सवारी चलाउँदा ध्यान दिनुपर्ने कुराहरु, विद्यमान मुख्य–मुख्य ऐन नियमहरु र कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्डलगायत विषयमा प्रशिक्षण दिएको उनले जानकारी दिए।

आगामी दिनहरुमा पनि अन्य विद्यालयहरुमा प्रशिक्षण कार्यलाई निरन्तरता दिइने उनले बताए। विशेष गरेर दुई पाङ्ग्रे सवारी साधनहरूले ट्राफिक नियम उल्लंघन गरी लापरबाहीपूर्ण तरिकाले सवारी चलाउने हुँदा त्यस्ता साधनलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको बताइएको छ। 

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल र प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले  प्रशिक्षण दिएका थिए। रासस

प्रकाशित मिति: : 2020-09-24 17:17:35

प्रतिकृया दिनुहोस्