नवविवाहिता जोडीलाई जापान सरकारले ६ लाख दिने

जन्मदर बढाउन नवविवाहित जोडीलाई प्रोत्साहन 

जापानले नवविवाहित जोडीका लागि आर्थिक सहयोगको घोषणा गरेको छ। आगामी अप्रिलदेखि विवाह गर्ने नयाँ जोडीले ६ लाख जापनिज रुपैयाँ प्राप्त गर्ने जापान सरकारले घोषणा गरेको छ । 

न्यून जन्मदरको समस्या व्यहोरिरहेको जापानले  अहिलेकै क्रममा जन्मदर घट्ने हो भने भविष्यमा जापान रित्तिने त्यहाँका विज्ञहरूले चेतावनी दिइरहेका छन्। 

जापानमा मान्छेहरू कामप्रति निकै समर्पित हुन्छन्। उनीहरू लामो समयसम्म काम गर्छन् । काममै व्यस्त हुँदा धेरै जापानिज ढिला विवाह गर्ने वा अविवाहित नै रहने क्रम बढेको छ। उनीहरूको यही जीवनशैलीका कारण जापानमा जन्मदर घट्दो अवस्थामा छ। सोहीकारण जापान सरकारले नवविवाहित सहयोग कार्यक्रमको घोषणा गरेको जापान टाइम्सले जनाएको छ।

सरकारको योजनाअनुसार नवविवाहित जोडीले आफ्नो नयाँ जीवन सुरुवात गर्न सरकारबाट ६ लाख रकम प्राप्त गर्नेछन् ।

द जापान टाइम्सका अनुसार सरकारले यो कार्यक्रमलाई व्यापक बनाएर देशमा चाँडै विवाह गर्नेको संख्या बढाउने योजना बढाएको छ। यसका लागि सरकारले केही विशेष मापदण्डसमेत तय गरेको छ । मापदण्डअनुसार यो सुविधा लिन चाहने बेहुलाबेहुली दुवै जना विवाह गर्ने समय ४० वर्षभन्दा कम उमेरको हुनुपर्नेछ।

जापानको केही स्थानीय तहमा यो कार्यक्रम यसअघिबाटै लागू थियो। गत जुलाईसम्म जापानको दुई सय ८१ नगरपालिका, देशको १५ प्रतिशत सहर र गाउँमा यो कार्यक्रम लागू भएको थियो। त्यसवेलासम्म स्थानीय निकायले आधा खर्च व्यहोर्दै आएका थिए। बाँकी खर्च केन्द्रीय सरकारले व्यहोर्दै आइरहेको थियो। 

यो कार्यक्रम प्रभावकारी देखिएपछि जापान सरकारले देशव्यापी बनाउने उद्देश्यस्वरूप नयाँ घोषणा गरेको हो। नयाँ घोषणाअनुसार जापान सरकारले घोषणा गरेको रकममध्ये तीन भागको एक भाग मात्रै व्यहोर्ने भएको छ । बाँकी रकम स्थानीय सरकारले नै व्यहोर्नेछ ।

सरकारले यो कार्यक्रमबाट प्रत्येक विवाहित जोडीलाई दुई सन्तानका लागि प्रेरित गर्ने लक्ष्य राखेको छ । गत वर्ष जापानमा प्रत्येक महिलाले उसको जीवनभर प्राप्त गर्ने बच्चाको संख्या १.३६ मात्रै थियो। गत वर्ष जापानमा अहिलेसम्मकै कम बच्चा जन्मिएका थिए । जापान सरकारले जनाएअनुसार गत वर्ष त्यहाँ आठ लाख ६५ हजार मात्रै बच्चा जन्मिएका थिए । यो अहिलेसम्मकै कम संख्या हो । 

आर्थिक सहयोगको घोषणाले सर्वसाधारणलाई विवाह गर्न प्रेरित गर्न प्रभावकारी देखिएको जनाइएको छ । सन् २०१५ मा जापानको नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्चले गरेको सर्भेले आर्थिक सहयोगले जापानी युवायुवातीलाई विवाहका लागि प्रेरित गरेको देखाएको थियो । 

सर्भेअनुसार यो व्यवस्था सुरु गरिएपछि जापानमा २५ देखि ३४ वर्षसम्मका पुरुषमा बिहे गर्ने क्रम २९.१ प्रतिशतले बढेको देखिएको थियो । यस्तै, अविवाहित महिलामा १७.८ प्रतिशतले वृद्धि भएको देखिएको थियो ।

प्रकाशित मिति: : 2020-09-24 17:32:06

प्रतिकृया दिनुहोस्