चीनले सरकारी स्वामित्वका कम्पनीका कामदारलाई स्वइच्छा विपरित अप्रमाणित खाेप दिएकाे आशंका

दीप सुवेदी

काठमाडाैं

कोरोना भाइरसको महामारीलाई रोक्न विश्वभरका वैज्ञानिकहरूले खोप तयार पार्न कडा मेहनत गरिरहेका छन्। 

यद्यपी अहिलेसम्म सुरक्षित र प्रभावकारी खोप पत्ता लागेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अहिले ४० भन्दा बढी सम्भावित खोपहरु मानवीय परीक्षणको विभिन्न चरणमा छन्। 

यदि प्रयोगको क्रममा यो खोप प्रयोग गर्न सुरक्षित छ र रोग प्रतिरोधात्मक क्षमता देखा पर्न देखिन्छ भने, त्यसपछि परीक्षण मानवमा शुरु हुन्छ।

मानवमा परीक्षणको प्रक्रिया पनि तीन चरणमा पूर्ण हुन्छ। पहिलो चरणमा भाग लिने व्यक्तिको संख्या एकदम थोरै छ र तिनीहरू स्वस्थ छन्।

दोस्रो चरणमा, परीक्षणको लागि भाग लिनेहरूको संख्या अधिक छ र खोप कति सुरक्षित छ भनेर हेर्न समूहहरू छन्।

प्रयोगको तेस्रो चरणमा, यो खोपको खुराक कति प्रभावकारी हुन्छ भन्ने निर्धारण गर्दछ।

अहिले खोप बनाउने होडमा विश्वभरका वैज्ञानिक तथा सरकारहरु लागि परेका छन्। विश्वलाई नै ठप्प प्रायः बनाएको कोरोना भाइरस महामारीको एक मात्र अचुक उपायका रुपमा खोपलाई लिइएको छ। 

खोप तीव्र गतिमा विकासको प्रयास भइरहँदा त्यसको सुरक्षात्मक क्षमता र प्रभावकारितालाई लिएर चासो र चिन्ता समेत व्यक्त हुँदै आएको छ। यहीबीचमा चीनले अप्रमाणित अर्थात विकासको क्रममै रहेको कोरोना भाइरसविरुद्धको खोप हजारौँ मानिसलाई दिइरहेको द न्यूर्योक टाइम्सले दावी गरेको छ। 

खबरअनुसार चीनले सुरक्षित र प्रभावकारी हुने अपेक्षासहित कोरोना भाइरसविरुद्धका सम्भावित तीन खोपहरु औषधि कम्पनीकै कर्मचारीसहितलाई दिएको हो। 

जसमा कम्पनीका कामदार, सरकारी अधिकारी, खोप कम्पनीका कर्मचारी रहेका छन्। यस्तै शिक्षक, सुपरमार्केटका कामदार तथा जोखिमयुक्त क्षेत्रको यात्रामा निस्कनेहरुलाई प्रमाणित नभइसकेको खोप दिने तयारी गरेको छ।

तेस्रो चरणको मानवीय परीक्षणको क्रममा रहेका ती खोपहरु चीन बाहिर स्वतन्त्र रुपमा परीक्षणमा सहभागी हुन चाहेका मानिसहरुलाई दिइएको छ।  

केही समय अगाडि नेपाल सरकारले विभिन्न देशमा कोरोना भाइरसविरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण क्लिनिकल ट्रायल गर्न सम्भाव्यता छलफल गरेको थियो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेका औषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको छ।

आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायलको लागि आउन ती देशले खोजेका छन्। 

परिषद्ले ती औषधि र खोपका लागि अनुसन्धान गरेर मात्र नेपालमा तेस्रो चरणको लागि क्लिनिकल ट्रायल अनुमति दिने जनाएको। अहिलेसम्म कुनै खोपको प्रयोग नेपालमा गरिएको छैन।

परिषद्ले रुसमा बनेको कोरोना भाइरसको विरुद्धको खोप ‘स्तुनिक भी’ नेपालमा पनि प्रयोग गर्नेबारे छलफल अगाडि बढाएको छ।

यद्यपी वैज्ञानिकहरुले त्यसको प्रभाव (सकारात्मक वा नकारात्मक) कस्तो छ र प्रभावकारिता कस्तो छ भनेर नजिकबाट नियाली रहेका छन्।

तर चीनमा परीक्षणको परम्परागत प्रक्रिया भन्दा बाहिरका व्यक्तिलाई पनि खोप दिइएको र सो खोप पाएकाहरु निगरानीमा रहे नरहेको पनि स्पष्ट नभएको न्यूयोर्क टाइम्सको खबरमा उल्लेख छ। यद्यपी खबरमा सरकारी स्वामित्वका कम्पनीका कामदारलाई स्वइच्छा विपरित बाध्य पारेर खोप दिइएको हुन सक्ने जनाइएको छ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिइ नसकेको अवस्थामा यहाँ प्रयोग गर्दा गम्भीर असर मानव स्वास्थ्यमा पर्न सक्छ। सोही कारण वैज्ञानिक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बृहत स्तरमा मानवीय परीक्षण गरी त्यसको नतिजाको विश्लेषण पछि मात्रै कुनै पनि नयाँ खोपलाई सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने गरिन्छ।

अप्रभावकारी खोपले सुरक्षाको गलत अवधारणा सिर्जना गरी झन बढी संक्रमण तर्फ बढाउन सक्ने जोखिम रहन्छ।

अहिले चीनमा बिस्तारित मात्रामा प्रयोग भइरहेको अप्रमाणित खोपले व्यक्तिको स्वीकृतिको विषयलाई पनि चासोको केन्द्रमा ल्याएको छ। 

प्रकाशित मिति: : 2020-09-27 09:35:53

प्रतिकृया दिनुहोस्