स्वास्थ्य सामग्री हस्तान्तरण

रासस

पाल्पा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सहयोगमा कोरोना परीक्षण गर्न चाहिने स्वास्थ्य सामग्री पाल्पा अस्पताललाई प्रदान गरिएको छ। 

पाल्पाको काजीपौवामा सञ्चालन हुन गइरहेको पिसीआर प्रयोगशालालाई आवश्यक स्वास्थ्य सामग्री प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका छन्। 

भिटीए ९०० पिस, आरटी र पिसीआर किट ३३४, एनएइई किट ३३४, गाउन ५० थान, सुकभर ५० जोर, पञ्जा ३३ जोर, चश्मा २० थान, एन–९५ मास्क ५० थान सामग्री हस्तान्तरण गरिएको हो। उनले भौतिक पूर्वाधारबिना पनि पाल्पामा प्रयोगशाला सञ्चालन गर्ने अनुमति अस्पतालले प्राप्त गरेको बताए। उनले कोरोना परीक्षण गर्न पिसीआर मेशिन आएको र पूर्वाधारसमेत तयार भइसकेको बताए। उनले दुई/तीन दिनमा विद्युत् जडान गरी परीक्षणको कार्य शुरुआत गर्न निर्देशन दिए।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष नारायण आचार्यले कोभिड–१९ जाँच गर्न सक्षम र प्रशस्त प्राविधिक रहेको बताए। पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले प्रयोगशाला निर्माणका लागि अस्पतालका अध्यक्षको काम प्रशंसनीय रहेको बताए।

पाल्पाका कोरोना सङ्क्रमितहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्न जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता थियो। तानसेनमा सञ्चालन हुने प्रयोगशालाले कोरोना परीक्षण गर्न सहज हुने अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: : 2020-09-27 10:57:40

प्रतिकृया दिनुहोस्