अर्बपति ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएदेखि ‘७५० डलर’ मात्रै आयकर तिरे

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ।

अर्बपति ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएको वर्ष (सन् २०१६) देखि आयकर स्वरुप ७५० डलर मात्रै तिरेको खबर बाहिरिएकाे हाे।

यस्तै सन् २०१६ र २०१७ को उनको व्यक्तिगत कर विवरण पनि अध्ययन गरेको जनाइएको छ। न्यूर्योक टाइम्स पत्रिकाले दाबी गरे अनुसार ट्रम्पले सन् २०१६ र २०१७ मा समान ७५० अमेरिकी डलर कर तिरेका थिए।

ट्रम्प र उनको कम्पनीको कर सम्बन्धी पछिल्लो दुई दशकको जानकारी आफूले प्राप्त गरेको न्यूर्योक टाइम्सले बताएको छ।

उनका कम्पनीको सन् १९९० यताको कर सम्बन्धी विवरण अध्ययन गरेको पत्रिकाले जनाएको छ।

ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको देखिएको खबरमा दाबी गरिएको छ। सो तथ्यांक अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष आय कर नै नतिरेको देखिएको पत्रिकाले जनाएको छ। 

ट्रम्पले आइतबार न्यूयोर्क टाइम्समा स्टोरी प्रकाशित भएपछि ‘टोटल्ली फेक न्यूज’ भनि खारेज गरेका छन्। आफ्नो बचाउ गर्दै उनले भनेका छन्, ‘वास्तवमा मैले तिरेको छु, तर तपाईँहरु सबैले मेरो कर सम्बन्धी काम सकिएपछि देख्नु हुनेछ।’
 

प्रकाशित मिति: : 2020-09-28 08:13:35

प्रतिकृया दिनुहोस्