खुला सिमानाका कारण लागुऔषधले थप्दै सुरक्षा चुनौती

रासस

सर्लाही
सांकेतिक तस्बिर

छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ। सीमा क्षेत्रका बजारहरूमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाइएको छ।

अवैध हतियार बोक्ने नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीहरूको समूह रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। साना हतियारको प्रयोगबाट तराईका क्षेत्रमा आपराधिक गतिविधिहरू हुने गरेका प्रहरीले अनुमान गरेको छ। 

प्रहरी उपरीक्षक राठौरले खुला सीमाको फाइदा उठाउँदै अवैध लागुऔषध सहजै नेपाली बजारमा आउने गरेको भए पनि यसलाई रोक्ने प्रयास गरिरहेको बताए। 'हामीले सीमाक्षेत्रमा निकै कडाइ गर्दै आएका छौँ तर पनि खुला सिमाना भएकाले कतै न कतैबाट चोर बाटो हुँदै अवैध लागू औषध बोकेर नेपाल प्रवेश गर्ने आपराधिक समूह रहेकाले उच्च सतर्कताका साथ खटेर काम गरेका छौँ' उनले भने। 

सीमा क्षेत्रको भारतीय बजारहरूमा अवैध लागू औषध खुलेआम बिक्री हुने हुँदा चुनौती बढेको उनको भनाइ छ। यसबाट दुवै देशका नागरिकलाई सुरक्षा चुनौती बढेको उउनले बताए। माओवादी द्वन्द्वको समयमा साना हतियारका साथै अवैध लागुऔषधको निकै बिगबिगी भएको थियो। त्यसबेला साना हतियारको प्रयोगबाट धेरैको ज्यान पनि गएको प्रहरीको भनाइ छ। हत्या, अपहरण, लुटपाटजस्ता अपराधमा साना हतियार प्रयोग हुने हुँदा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाइ छ। 

सुरक्षा अधिकारीकोे सीमा बैठकमा साना हतियार तथा अवैध लागू औषधको विषयमा कुरा उठ्ने गरेको पाइएको छ। यसलाई रोक्नु पर्नेमा भारतीय अधिकारीहरू समेत सहमत हुँदै आएका छन्। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले तराई मधेशका सबै जिल्लाको सिमाना खुला रहेका कारण अवैध लागुऔषधको ओसारपसार गम्भीर चुनौती भएको बताए। खुला सीमा भएकाले समस्या हुने गरेका कारण दुवै देशका सुरक्षा अधिकारीले एकअर्कालाई सहयोग गरे समस्या समाधानमा सहज हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। 

लगुऔषध शरीरको कुनै पनि भागमा सहजै लुकाएर ल्याउने गरेका उनको भनाइ छ। साना सवारी साधनको केही भागमा लुकाएर अवैध लागू औषध ओसारपसार गर्दै आएको पाइएको र खुल्ला सिमानाका कारण जिल्लामा अवैध लागुऔषध नियन्त्रण कार्य निकै चुनौतीपूर्ण रहेको प्रजिअ पौडेलले बताए। 

प्रकाशित मिति: : 2020-09-28 11:52:52

प्रतिकृया दिनुहोस्