टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश अदालतले राेक्याे

अमेरिकी एक न्यायाधीशले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएका छन्।

ट्रम्पले एप्पलको एप स्टोर तथा एन्ड्रोइडको गुगल प्ले स्टोरबाट टिकटक एप्लिकेशन डाउनलोडमा प्रतिबन्ध लगाएका थिए। तर, पहिले नै डाउनलोड गरेर प्रयोग गरिरहेका प्रयोगकर्ताले भने टिकटिक चलाउन पाइरहेका छन्।

तर, एप्लिकेशन डिलिट गरेमा पुनः डाउनलोड गर्न वा अपडेट गर्न पाएका थिएनन्। प्रतिबन्ध कार्यान्वयनमा आउनुभन्दा केही समयअघि मात्र कोलम्बिया जिल्लाको अदालतमा प्रतिबन्धविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश कार्ल निकोल्सले ट्रम्पको आदेशमा रोक लगाएका हुन्।

टिकटकमाथिको  प्रतिबन्धमा रोक लगाउने आदेश जारी गर्नुको कुनै कारण भने उल्लेख गरिएको छैन। यद्यपि यस विषयमा आगामी दिनमा फैसला गरिने उल्लेख छ।

टिकटकले राष्ट्रपतिबाट लगाइएको प्रतिबन्धले अमेरिकी संविधानको पहिलो र पाँचौँ संशोधनको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेको थियो।

सरकारी वकिलले भने एप्लिकेशनका मालिक चिनियाँ कम्युनिष्ट पार्टीको माउथपिस रहेको भन्दै वकालत गरेका थिए। राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने भन्दै ट्रम्पले टिकटकको डाउनलोडमा प्रतिबन्ध लगाएका थिए।

अदालतमा सुनुवाइको क्रममा बाइटडान्सका वकिलले अमेरिकाले लगाएको यो प्रतिबन्धलाई तर्कहीन रहेको बताएका थिए। यस विषयमा अहिले पनि वार्ता जारी रहेको अवस्थामा प्रतिबन्ध लगाउनु उचित नरहेको बाइटडान्सले उल्लेख गरेको थियो।

बाइटडान्सले सन् २०१७ मा टिकटक सार्वजनिक गरेको थियो। विश्वभर टिकटकका ५० करोड प्रयोगकर्ता र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता छन्।

प्रकाशित मिति: : 2020-09-28 12:08:26

प्रतिकृया दिनुहोस्