बाढी प्रभावितलाई प्रवासीको २७ लाख ८० हजार

रासस

बागलुङ
सांकेतिक तस्बिर

गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि रु २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको छ। 

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे।

रोजगारीका सिलसिलामा जापानमा रहेका ६०० भन्दा बढी प्रवासी नेपालीबाट बाढी प्रभावितका लागि राहत रकम सङ्कलन गरिएको थियो। बाढी प्रभावितको पुनस्र्थापनामा सघाउन राहत अभियान चलाइएको समाजका अध्यक्ष दिलु खत्रीले बताए। 

'बाढी प्रभावितको घाउमा मलम लागोस् भनेर सहयोग जुटायौँ, तत्कालै राहतको अनुभूति हुने गरी काम होस्' उनले भने। समाजले दिएको सहयोग रकम बाढीमा बास गुमाएका परिवारको घर निर्माणमा खर्च गरिने ढोरपाटनका नगर प्रमुख देवकुमार नेपालीले बताए। उनले समाजका तर्फबाट बाढी प्रभावित छ परिवारका लागि रु पाँच लाख बराबरको घर बनाइदिने प्रतिबद्धता जनाए। 

गलकोटका नगर प्रमुख गैरेले राहतको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे। गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले सयौँ परिवार घरवासविहीन बनेका छन्। बाढीमा परी २२ जनाको ज्यान गएको थियो भने १५ अझै बेपत्ता छन्। कैयौँ भौतिक संरचनामा क्षति पुगेको छ। बाढी प्रभावितका लागि देश–विदेशमा राहत अभियान चलाइएको छ। हालसम्म राहत कोषमा रु एक करोडभन्दा बढी जम्मा भएको ढोरपाटन नगरपालिकाले जनाएको छ। 

प्रकाशित मिति: : 2020-09-28 12:21:26

प्रतिकृया दिनुहोस्