चितवनमा पाटेबाघले आक्रमण गर्दा एक जनाको मृत्यु

पाटेबाघले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु भएको छ।

 चितवन निकुञ्जसँग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर ६ का ६० वर्षीय बगुना चौधरीलाई  सोमबार बाघले आक्रमण गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए।

कुमरोज वनमा चित्तल मारेर खाँदै गरेको बाघसँग बगुनाको जम्काभेट भएको हुन सक्ने सहायक संरक्षण अधिकृत अशोक रामले बताए। 

‘पटिहानी क्षेत्रमा बाघले अरू सिकार गर्न नसकेर अशक्त भई मान्छे मारेको पाइएको थियो। त्यसलाई हामीले नियन्त्रणमा लियौं। कुमरोजमा पनि सिकार गरेर खाँदै गरेको अवस्थामा मान्छेसँग जम्काभेट भएको देखिन्छ,’ उनले भने। चितवन निकुञ्जमा गत वर्ष हात्ती र गैंडाको आक्रमणमा परी मध्यवर्ती क्षेत्रका पाँच जनाको निधन भएको थियो।

एक महिनायता चितवन निकुञ्जनजिक बाघले आक्रमण गर्दा स्थानीयको ज्यान गएको यो तेस्रो घटना हो।

 शनिबार मात्रै निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पटिहानीको बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक स्थानीयको बाघको आक्रमणमा परेर ज्यान गएको थियो। 

भदौ २२ मा पनि बेलसहर आडकै बाटुलीपोखरी वनमा घाँस काट्न गएका एक स्थानीयले बाघले आक्रमण गर्दा ज्यान गुमाएका थिए।

प्रकाशित मिति: : 2020-09-28 12:27:45

प्रतिकृया दिनुहोस्