कोरोनापछि भूमिसँग जोडिँदै छन् वडाध्यक्ष भूमिबहादुर (भिडियाे स्टाेरी)

बेमौसमी तरकारी खेतीबाट स्वरोजगार :

बिएल संवाददाता

दामेचौर (धादिङ)

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ का वडा–अध्यक्ष हुन्– भूमिबहादुर तामाङ, ३० । कोरोनाको विश्वव्यापी महामारी फैलिएपछि उनी व्यावसायिक कृषिकर्ममा जुटेका छन् । 

नौबिसेबाट करिब १६ किलोमिटर ‘बाइरोड’ को बाटो यात्रा गरेपछि पुगिन्छ– दामेचौर । उनी त्यही क्षेत्रका जनप्रतिनिधि पनि हुन् । उनको ‘कृषिफार्म’ त्यहीँ हो ।

उनले बिएल नेपाली सेवासँग भने, ‘फार्म पहिल्यै दर्ता थियो । कोरोनाको लकडाउन भयो । वडाको काम त छँदै थियो । त्यत्तिकै बस्नुभन्दा आफ्नै जग्गामा कृषि कर्ममा लागौँ भनेर काम थाल्यौँ– लकडाउनलाई फोकस गरेर ।

स्थानीय चुनावपछि धेरै वडाध्यक्षले डोजर किनेर सरकारी बजेट आफ्नो खातामा सार्ने अभियानमा लागेका छन्– महंगो दरमा सरकारलाई डोजर भाडामा लगाएर । सडक खन्ने ठेक्का आफैँले लिएर । अर्का खालका वडाध्यक्षले उत्पादनशील समय यत्तिकै खर्च गरिरहेका छन्– काम नगरी राजनीतिका नाममा गाृउँ डुलेर । वडाध्यक्ष भूमिबहादुर चाहिँ नाम अनुसारकै काममा लागेका छन्, भूमि सिंचेर तरकारी फलाउँदै छन् ।

घरखर्चीको लागि ८–१० वर्षअघिदेखि नै तरकारी खेती गर्थे भूमिबहादुरको परिवारले । कोरोनाको कहरपछि चाहिँ यसलाई व्यावसायिक स्वरुप दिए । 

 करिब ६ रोपनीमा छ उनको तरकारी फार्म । चाँडै २०-२५ राेपनी बनाउँदै छन् ।  ‘बैशाख तेस्रो सातातिरदेखि असारको अन्तिमसम्म स्कुसको मुन्टा र स्कुस बेचेर सक्यौँ’, भूमिबहादुरले भने, ‘अब प्याज रोप्छौँ, बेर्ना तयार छ । मंसिर अन्तिम सातासम्म प्याजको साग बेचिसक्छौँ । अनि फेरि पुसमा स्कुस रोप्छौँ ।’

आफ्नो फार्मले दिने उपलब्धि सुनाउँछन्, ‘काम गरेको ज्याला कटाएर छ रोपनीमा बेमौसमी तरकारी खेती गर्दा खर्च कटाएर त्यस्तै सात–आठ लाख रुपैयाँ बच्छ ।’ 

लकडाउनपछि भूमिबहादुर अब कृषि फार्मलाई विस्तार गरेर २५ रोपनी बनाउने तयारीमा छन् । ‘मेरा भाइहरु छन्, कृषि तालिम लिएका ।  उनीहरुले दामेचौरमै ‘जनभोजन’ चलाइरहेको ‘प्रेम सागर फाउन्डेसन’ ले दिएको कृषि तालिम लिएका छन् । उनीहरु स्वरोजगार भएका छन् । मैले पनि काम पाएको छु ।’

‘प्रेम सागर फाउन्डेसन’ को सहयोगमा दामेचौरमा ‘जनभोजन’ सञ्चालित छ । पाँच सय जनालाई खाना र १५ सय जना विद्यार्थीलाई दैनिक खाजा खुवाउँदै आएको छ । यो संस्थाले हाइस्कुल चलाएको छ । स्थानीयलाई कृषिमा सघाएको छ । 

‘जन–भोजनालयले भोजनालयको मात्र भूमिका कहिल्यै निभाएन । यहाँको विकास, शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गरेको छ । कृषि क्षेत्रमा तालिम ल्याएर आउनु भएको छ’, अगुवा किसान बन्दै गरेका वडाध्यक्ष भूमिबहादुरले भने, ‘जनचेतनामूलक कार्यक्रम ल्याइरहनुभएको छ– वडासँग समन्वय गरेर । केही साथीहरुलाई तालिम पनि दिनुभएको छ । त्यो प्रभावकारी भएको  छ ।’ 
भूमिबहादुर वडाध्यक्ष हुनुअघि काठमाडौँको कालिमाटीमा तरकारी व्यापार पनि गर्थे । त्यहाँ उनको पसल अझै छ । वडाध्यक्ष निर्वाचित भएपछि उनले पसललाई गाउँको तरकारी खेतीसँग जोडे । 

साविक नेकपा माओवादीबाट वडाध्यक्ष जितेका हुन् भूमिबहादुरले । पार्टीको काममा लाग्दा उनले कम्युनिष्ट सिद्धान्तबारे पनि सुनेबम छन् । उनी समाजको रुपान्तरणका लागि ‘आफूबाटै परिवर्तन गरौँ भनेर देखाउन सक्नुपर्छ’ भन्नेमा प्रतिबद्ध छन् ।  
स्थानीय तह चुनावबाट वडाध्यक्ष निर्वाचित भइसकेपछि उनको भूमिका फेरियो । उनले जिम्मेवारी थपिएको बोध गरे । त्यसपछि नै वडासँगै कृषिलाई पनि सँगसँगै लाने विचार गरे । ‘राजनीति गर्ने मान्छेले राजनीति मात्रै गरेर पनि भएन । हामी जस्तो युवाले राजनीतिसँगसँगै कृषिलाई पनि सँगै लान पायो भने देशको उन्नति हुन्छ’, भूमिबहादुरले भने । 

मध्य पहाडी क्षेत्रमा पर्ने धादिङको कृषिकर्म बढीजसो काठमाडौंको कालिमाटीसँग जोडिएको छ । बेमौसमी तरकारी खेती गरेर ग्रामीण किसान आत्मनिर्भर बन्नसक्ने भूमिबहादुरको अनुभव छ ।

‘बेमौसमी तरकारीलाई फोकस गरिरहेका छौँ– महंगोमा बेचौँ भनेर । पुसतिर रोपेको स्कुस काटेर साउनको पहिलोसातातिर काँक्रा रोप्यौँ– त्यही जग्गामा’, उनले भने, ‘स्कुस फल्दै त थियो । तीन महिनाभन्दा धेरै फल्दैन । कम फल्ने भएपछि काटिदियौँ । काँक्रो पनि ५० दिन÷दुई महिना जतिदेखि फल्न थाल्छ । तीन साताजति बेच्न पाइन्छ । अहिले काँक्रो काटेपछि रोप्न प्याजको बिऊ राख्न थालिसक्यौँ । प्याजको साग मंसीरको अन्तिमतिर बेच्न थाल्छौँ । त्यसपछि फेरि पुसमा स्कुस रोप्छौँ ।’ 

भूमिबहादुरले आफ्नो पार्टीको सिद्धान्त पनि सुनाए, ‘म माओवादीबाट वडाध्यक्ष उठेर जितेको । कम्युनिष्ट सिद्धान्तले पनि भन्छ– नीति र नियमभित्र रहेर काम गरी आत्मनिर्भर हुनुपर्‍यो ।’

भूमिबहादुरले कृषिकर्मबाट आफ्नो र आफ्नो समुदायको आर्थिक उन्नति त देखेका छन् नै, उनले नेपालीको स्वास्थ्यमा पनि योगदान गर्नसक्ने सोच राखेका छन् । उनले भने, ‘कालीमाटी तरकारी बजारको अवस्था भयावह छ । भारतबाट ७०–८० प्रतिशत तरकारी आउँछ । चीनबाट पनि आउँछ । विषादी सहितका तरकारी आउँछ ।’ 

चाँडै २०–२५ रोपनीमा खेती गर्ने सोच बनाएका वडाध्यक्ष भूमिबहादुरले भने, ‘फलाउने मेरा भाइहरु छन् । उनीहरुलाई रोजगारी मिलेको छ । मैले जग्गा, बीऊ र अरु लगानी गरेको छु  । मलाई कृषिमा रमाउन मन छ ।’ 

भूमिबहादुरले एक–दुई वटा प्लास्टिकका टनेल बनाएर तरकारी फलाउनेलाई पनि उत्प्रेरित गरेका छन् ।  ‘हाम्रो तरकारीको गाडी कालिमाटी आउँछ । हामीले स–साना तरकारी खेती गर्नेका तरकारी झोलामा राखेर काठमाडौं पठाइदिन्छौँ । कतिमा बिक्यो, यहाँ बेचेर गाउँमा बिल पठाउँछौँ । यहाँ बेचेको मूल्यमा मार्जिन राखेर पैसा दिन्छौँ । १२/१२ को एउटा ‘टनेल’ बनायो भने सामान्य नूनतेल खान पुग्ने रहेछ ।’ 

प्रकाशित मिति: : 2020-09-29 19:48:00

प्रतिकृया दिनुहोस्