नक्कली शरणार्थी प्रकरण

आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडियाे क्लिप प्रहरीकहाँ पुग्यो (अडियाेसहित)

File Photo
File Photo

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र अर्का नेता बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसमेत संलग्न रहेकाे अडियाे क्लिप प्रहरीकहाँ पुगेको छ।

पक्राउ परेका व्यक्तिहरूकाे बयान र पीडितहरूबीच अडियाेमा आरजु र मञ्जुलाई आठ करोड रुपैयाँ बुझाएको सन्दर्भमा कुराकानी भएको सुनिन्छ।

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार उक्त अडियाे गिरोहका सदस्य सन्देश शर्मा र पीडित व्यक्तिकाे हो। उनीहरू बीचको कुराकानीमा नेत्रीद्वय राणा र खाँणलाई गरी साढे आठ करोड रुपैयाँ बुझाएको बताइएकाे छ।

त्यस्तै, अर्काे अडियाेबाट कांग्रेसकै सांसद डा. शेखर कोइराला र पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासमेत संलग्न रहेको खुलासा भएको छ।

बिएल नेपाली सेवालाई प्राप्त अडियोकाअनुसार प्रहरी हिरासतमा रहेका अभियुक्त सन्देश शर्माले कांग्रेस नेता डा. शेखर, नेत्री सुजाता र सचिव टेकनारायण पाण्डेसँग नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रक्रिया मिलाउने सन्दर्भमा कुराकानी भइरहेको जनाएका छन्।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ रकम असुलेका शर्माले पीडितसँग गरेको टेलिफोनवार्तामा भनेका छन्, ‘मेरो भर्खरै छलफल भएको छ। मौन अवधि छ। नेताहरू कोही बिजी छैनन्। शेखर कोइराला, सुजाता कोइराला, केशव दुलाल, म, सानु भण्डारी, मोरङको एसपीसँग दिउँसो छलफल भएको थियो।’

अनुसन्धनको क्रममा हालसम्म दर्जन बढी अभियुक्तहरू पक्राउ परेकाे प्रहरीले जनाएकाे छ। प्राप्त अडियोकाअनुसार पीडितलाई फकाउने क्रममा अभियुक्त सन्देश शर्माले उल्टै नेतादेखि गृहसचिवसम्मलाई ५६ देखि ८५ करोडको डिल गरेको दुःखेसो सुनाएका छन्।

८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो।

केशव दुलाल, सन्देश शर्मा, सानुराम भण्डारी, टेक गुरुङ र सागर थुलुङले गृह प्रशासन, नेता र अमेरिका जान चाहनेबीच बिचौलियाको भूमिका खेलेको आरोप छ। उनीहरू प्रहरी हिरासतमा छन्।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र गृहसचिव टेकनारायण पाण्डेले यो समूहलाई सघाएको प्रहरीको भनाइ छ। पूर्व मन्त्री एवं नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा फरार छन्। पूर्व गृहमन्त्री बालकृष्ण खाण अनुसन्धानको दायरामा छन्।



सिंहदरबारमा भ्रष्ट, ठग र दलालहरूको रजगज

सत्ता र शक्तिको आडमा सिंहदरबारभित्र के–कस्ता कुकर्म भइरहेका छन्? यसको एउटै प्रमाण हो– नक्कली भुटानी शरणार्थी प्रकरण। कहिलेकाहीँ सुन्छौँ– दलालहरूले देश बिगारे, राज्यसत्ता भ्रष्ट भयो। जताततै ठगहरूको बिगबिगी छ। नहोस् पनि कसरी– पूर्वगृहमन्त्री, पूर्वमन्त्री र बहालवाला सचिव नै बिचौलिया प्रयोग गरेर ‘भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने’ भन्दै सयौँ नेपालीबाट प्रतिव्यक्ति लाखौँ कुम्ल्याउँछन्।

देशका प्रधानमन्त्री, मन्त्री, मन्त्रीका भाइछोरा–सालासाली, सचिवालयका बिचौलिया र मन्त्रालयका सचिवहरूले सिंहदरबारभित्र बेग्लै ‘लुट साम्राज्य’ चलाइरहेका छन्। उनीहरू आफूलाई कानुनभन्दा माथिको बलवान व्यक्ति ठान्छन्। लोकतन्त्रको नाममा राज्यसत्ताको चाबी बोकेर दलाल र ठगसँग साँठगाँठ गरिआएका सांसद–मन्त्रीहरू भ्रष्टलाइनको शीर्ष पंक्तिमै पूरा स्टाेरी...



प्रकाशित मिति: : 2023-05-08 06:42:00

प्रतिकृया दिनुहोस्