भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो।
शुक्रबार साँझसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ८ सय ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ।
कोरोना संक्रमणबाट एक लाखभन्दा बढी मृत्यु हुने भारत तेस्रो मुलुक बनेको छ। अमेरिकामा कोरोना भाइरसबाट करिब २ लाख ८ हजार जनाको मृत्यु भएको छ भने ब्राजिलमा एक लाख ४४ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्।
त्यस्तै शुक्रबार मात्रै भारतमा थप ७९ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ७३ हजार ५ सय ४४ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७५ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म ५४ लाख २७ हजार ७ सय ६ जना निको भएका छन् भने करिब ९ लाख ४५ हजार संक्रिय केस रहेका मन्त्रालयले जनाए।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर)का अनुसार शुक्रबार साँझसम्म ७ करोड ७० लाखभन्दा बढी नमुना परीक्षण गरिएको छ। शुक्रबार मात्रै ११ लाखभन्दा बढी नमुना परीक्षण भएको आईसीएमआरले जनाएको छ।
कोरोना संक्रमणका हिसाबले भारत विश्वमै दोस्रो प्रभावित मुलुक हो।