कडा सुरक्षाबिच शुरु भयाे प्रदेश ५ मा नेकपा संसदीय दलको बैठक

कडा सुरक्षाबीच प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी संसदमा पेश भएको प्रस्तावबारे छलफल गर्न नेकपा प्रदेश ५ संसदीय दलको बैठक सुरु भएको छ। 

नेकपा संसदीय दलको कार्यालयमा मुख्यमन्त्री शंकर पोखरेलसहितका मन्त्री र सांसदहरु केहीबेर अगाडि पुगेका थिए।

सांसदहरुलाई बिहान दलको बैठकमा उपस्थित हुन साँझ नै एसएमएस गरेका थिए। एसएमएसमा बिहान ७ बजेपछि संसदीय दलको कार्यालयमा बैठक भनेर सांसदहरुलाई बोलाइएपनि मुख्यमन्त्री ११ बजेपछि मात्रै प्रदेशसभा परिसरमा प्रवेश गरेका छन्।

गत शुक्रबार प्रदेश सरकारको निर्णयपछि संसदमा प्रदेशको स्थायी राजधानी दाङ देउखुरी र नाम लुम्बिनी राख्न संसदमा प्रस्ताव दर्ता भएको छ।

प्रदेशका मन्त्री तथा सांसदसँग छलफल नगरी राजधानी र नाम सिफारिस गरेकोमा मुख्यमन्त्री शंकर पोखरेलको विरोध भइरहेको छ। राजधानी र नाम सिफारिसका लागि गठित समितिले दिएका विकल्प लत्याएको मुख्यमन्त्रीमाथि आरोप छ।

राजधानी बुटवलबाट दाङ सार्न नेकपाकै कतिपय सांसद मानेका छैनन्। विपक्षी नेपाली कांग्रेसले आन्दोलन गरिरहेको छ।

रूपन्देही, कपिलवस्तु, पाल्पालगायत जिल्लाका नेकपा सांसदले पनि राजधानी सार्ने विषयमा असन्तुष्टि जनाएका छन्। शनिबार पाँच घण्टा यसबारे उनीहरू छलफलमा जुटेका थिए।

शनिबार केही निर्णय नभएपछि आज पुनः नेकपा संसदीय दलले बैठक राखेको हो।

प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले सदस्यहरुका राय सुझावमाथि छलफल गर्न बाँकी रहेकोले बिहानै बैठक बोलाएको थियो।  

बैठकमा सांसद श्रेष्ठले विधि र प्रक्रिया मिचेर प्रदेश राजधानी सार्ने प्रस्ताव आएको भन्दै प्रदेश सभाले नियमावली संसोधनका लागि बनाएको मस्यौदा समितिको संयोजकबाट राजीनामा दिएका छन्।

प्रदेश राजधानीबारे आज दिउँसो प्रदेशसभा बैठकमा छलफल हुनेछ। छलफलपछि मतदान भएमा पारित गर्न दुईतिहाइ मत चाहिन्छ।

दाङमा राजधानी बनाउने विपक्षमा नेकपाका १४ सांसद छन्। नेकपाले दाङकै पक्षमा ह्वीप जारी गर्ने सम्भावना छ।

यसअघि ह्वीप लगाउन सक्ने निर्णय गरे पनि नेकपाले राजधानी र नामबारे ह्वीप जारी गर्ने जानकारी सांसदहरुलाई गराएको छैन।  

यता गए राति मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुुंगामुढा गरेपछि आज सुरक्षा व्यवस्था अझ कडा पारिएको छ। 

संसद भवन बाहिर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने मुख्य चोक तथा मन्त्रालयहरुमा पनि सुरक्षा सर्तकता बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-05 12:33:35

प्रतिकृया दिनुहोस्