स्वास्थ्य निर्देशिका पालनामा नेताकाे अटेरी

बालुवाटारमा समेत देखिएन स्वास्थ्य संवेदनशीलता

दिनेश गौतम

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यहरूले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट एकपछि अर्काेले शनिबार जानकारी गराउँदै थिए । आफ्नो सचिवालयका सदस्यलाई संक्रमण भएकोबारे प्रधानमन्त्री ओली पनि जानकार थिए । 

तर प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमै ब्यस्त थिए । अघिल्लो साता प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई कोरोना संक्रमण भएको थियो । कार्यालयकै फोटोग्राफर राजन काफ्लेलाई पनि पोजिटिभ देखिएको थियो । 

डा. सिंह र काफ्लेलाई संक्रमण भएलगत्तै बालुवाटारमा कोरोनाको घण्टी बजेको थियो । तर यसतर्फ बालुवाटारले चासो दिएन । उल्टै  भेटघाट र छलफल भई नै रहे । 

शनिबार र आइतबार प्रधानमन्त्री सचिवालयका सदस्यहरू विष्णु रिमाल, सूर्य थापा, राजन भट्टराई, ईन्द्र भण्डारी र रामशरण बजगाईँलाई कोरोना संक्रमण देखिएको थियो । 

काठमाडौं उपत्यका यतिबेला कोरोना भाइरस (कोभिड–१९) को हब बनेको छ । सरकारले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न उर्दी मात्र जारी गरेको छैन, मास्क नलगाउनेलाई जरिवानासमेत लिन भनेको छ । 

तर नियम बनाउने र पालना गर्न सिकाउने सरकारी निकायले नै आफैँले बनाएको नियमको उल्लंघन गरेको पाइन्छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारले कोरोनालाई बेवास्ता गरेको त होइन भनेर जनस्वास्थ्यका विज्ञहरूले प्रश्न उठाएका छन् । भेला, बैठक र छलफल गर्नुले प्रधानमन्त्री कार्यालय संवेदनशील नभएको देखाउँछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता भन्छन्, ‘बालुवाटारले जनस्वास्थ्यको मापदण्ड पालना गरेन । भीडभाड धेरै भयो । अनि संक्रमण फैलियो । सबै पार्टीका नेता, सांसद, जनप्रतिजिधिले जनतालाई सचेत गराउने हो । एकले अर्कोलाई विरोध र खिसिटिउरी गर्ने समय होइन ।’

प्रकाशित मिति: : 2020-10-05 14:18:45

प्रतिकृया दिनुहोस्