‘डेट एक्सपायर’ खाद्य सामग्री बेच्न गिरोह नै सक्रिय

२०७ प्रकारका अखाद्य सामग्रीमा नयाँ लेभलिङ

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरूमा ‘डेट एक्सपायर’ खाद्य सामग्रीलाई नयाँ मितिसहित पुनः लेभलिङ गरी बेच्न ठूलो गिरोह नै सक्रिय भएको पाइएको छ । प्रहरीले काठमाडौंमा मंगलबारसम्म त्यस्ता गिरोहबाट सञ्चालित चार ठूला गोदाममा छापा मारी बजारमा बेच्न लैजाने तयारी अवस्थामा राखिएका २०७ प्रकारका अखाद्य सामग्री सिल गरेको हो ।

‘हेर्दा डिस्टिब्युटर्स र सञ्चालकहरू फरक फरक छन् तर काम उही छ, थप अनुसन्धान गर्दै छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले म्याद गुज्रिएका अखाद्य सामान बजारबाट उठाउने र नयाँ लेभलिङ गरेर फेरि बजारमा पठाउन ठूलो गिरोह नै लागेको हुन सक्ने बताए ।

‘सप्लायर्सहरू फरक फरक देखिएका छन् तर कनेक्सन कहाँ छ भनेर खोज्दै छौं,’ महाशाखा प्रमुख थापाले भने । प्रहरीले आफ्नो तर्फको अनुसन्धान जारी राखेरै म्याद सकिएका सामान बिक्री गर्ने कम्पनी तथा डिस्टिब्युटर्सहरूको फाइल सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको जनाएको छ ।

प्रकाशित मिति: : 2020-10-07 08:58:41

प्रतिकृया दिनुहोस्