नवाज सरिफकी छोरीलगायत ४४ जनालाई देशद्रोहको मुद्धा

एजेन्सी

इस्लामाबाद

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजसहित पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का ४४ कार्यकर्तामाथि देशद्रोहको मुद्धा दायर भएको छ। 

मरियमलगायत यी सबै कार्यकर्तामाथि भडकाउँ भाषण गरेको आरोप छ। पाकिस्तानी प्रहरीले आफ्नो भाषणमा देशलाई बदनाम गर्न खोजेको र राष्ट्रिय अस्मितामाथि आँच आउने काम गरेको आरोप लगाएको छ। 

पाकिस्तानका हालका प्रधानमन्त्री इमरान खानको विपक्षी दलकी नेता पनि हुन्, मरियम। उनी विगत वर्षदेखि सरकारविरूद्ध आक्रामक बन्दै आइरहेकी थिइन्। उनको बुवा पूर्व प्रधानमन्त्री नवाज भ्रष्टाचारको मामिलामा भगौडा घोषित भएका छन्। 

उनी उपचारको बहानामा देश बाहिर गएका थिए। हाल लण्डनमा बसोबास गर्छन। उनले भिडियो कन्फ्रेन्सिङमार्फत पाकिस्तानी जनतालाई भड्काउन थालेको सरकारको आरोप छ। 

नवाजको भाषणको विरूद्ध इस्लामाबाद उच्च अदालतमा सोमबार पनि मुद्धा दर्ता भएको थियो। तर, अदालतले राजनीतिक कुरामा हस्तक्षेप गर्नु आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भन्दै निर्णय गर्न अस्वीकार गरेको थियो।

७० वर्षीय नवाज गत वर्ष नोभेम्बरमा लन्डन पुगेका थिए। उनलाई अदालतले भ्रस्टाचारको मुद्धामा थुप्रै पल्ट पत्र काटिसकेको छ। तर, उनी उपस्थित नभएपछि भगौैंडा घोषित गरिएको थियो।

प्रकाशित मिति: : 2020-10-07 12:20:59

प्रतिकृया दिनुहोस्