सरकारले कोरोना भाइरसका कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी स्थगित सबै परीक्षा सञ्चालन गर्न सक्ने गरी स्वीकृति दिएको हो।
‘परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेका छौं,’ सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
कोरोना भाइरस महामारीका कारण गत चैतदेखि परीक्षा स्थगित भएका थिए।
बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
सरकारले यसअघि भर्चुवल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो।