चीनले संसारभरि कोरोनाभाइरस फैलाएकोमा ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प

एजेन्सी

काठमाडौं

संसारभरि कोरोनाभाइरस फैलाएकोमा चीनले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चेतावनी दिएका छन् । 

सैन्य अस्पतालबाट ह्वाइट हाउस फर्केको ५० घन्टाभन्दा कम समयमा ट्रम्पले ट्विटरमा भिडियो पोस्ट गर्दै कोभिड–१९ महामारी संसारभरि फैलाउनका लागि चीन दोषी रहेको बताए । 

चीनको वुहान शहरमा ज्यानमारा कोरोनाभाइरस पहिलोपटक देखिएको हो । अमेरिकामा यसले २ लाख ११ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । 

‘यो हुनुमा तपाईंको दोष छैन । यसमा चीन दोषी छ । र यस देशलाई यस्तो हालतमा ल्याएकोमा चीनले ठूलो मूल्य चुकाउनुपर्नेछ । संसारलाई यस्तो गरेकोमा चीनले ठूलो मूल्य चुकाउनुपर्नेछ । यो चीनको दोष हो । सम्झनुस् यो कुरा,’ ट्रम्पले भिडियो सन्देशमा बताए । 

चीनलाई दण्डित गर्न कुन उपाय अपनाउने भनी ट्रम्पले खुलाएनन् तर उनको प्रशासनले चीनविरुद्ध विभिन्न कारवाही चलाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूलाई प्रवेशाज्ञा दिन कडाइ पनि यसमा संलग्न छ । ट्रम्प र परराष्ट्रमन्त्री माइक पोम्पेओले संसारभरि चीनविरुद्ध अभियान चलाउँदै आफ्ना समकक्षीहरूलाई भेटिरहेका छन् । 

बुधवार अमेरिकी संसद्को अन्तर्राष्ट्रिय मामिला समितिले कोभिड–१९ को उत्पत्तिका विषयमा अन्तिम प्रतिवेदन पेश गरेको छ । ‘यसको निष्कर्ष आश्चर्यजनक छैन, चीनले विश्व स्वास्थ्य संगठनलाई सक्रिय रूपमा ढाँट्यो र भाइरसको ढाकछोप गर्न बहुतै प्रयास गर्‍यो,’ सांसद ब्रायन मास्टले बताए । 

‘चीनले कोरोना महामारीका विषयमा पारदर्शिता नअपनाएको र कुव्यवस्थापन गरेकोले लाखौं मानिसको ज्यान गएको छ, करोडौं रोजगारी गुमेका छन् र अथाह आर्थिक क्षति पुगेको छ । चीनले यस्तो व्यवहार देखाएको यो पहिलोपटक हैन । चिनियाँ कम्युनिस्ट पार्टीले कुरा घुमाउने गरेको इतिहास छ र उनीहरूलाई अपराधका लागि जवाफदेही बनाउने समय भइसकेको छ । यस्तो कुरा फेरि कहिल्यै नहोस् भनी हामीले मिलेर सुनिश्चित गर्नुपर्नेछ,’ उनले भने । 

प्रकाशित मिति: : 2020-10-08 11:45:07

प्रतिकृया दिनुहोस्