पर्साका मन्दिरमा पुजा आराधनामा कडाई, यो वर्ष बलि निषेध

मन्दिर

पर्सा जिल्लाका शक्तिपीठहरुमा नित्य पुजा अर्चना गर्न र बलि दिन निषेध गरिएको छ। 

दशैं, तिहार र छठमा अधिक भिडभाड हुनेभएपछि कोरोना संक्रमणलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको अध्यक्षतामा बिहीबार साँझ सम्पन्न बैठकले धार्मिक आस्थामा आँच नआउन गरी शक्तिपीठहरुमा नित्यपुजा अर्चना मात्रै गर्ने, वीरगञ्जको गहवामाई, विन्दवासिनी, विर्तामाई, नगवा लगायतका शक्तिपीठ तथा मन्दिरहरुमा बलि निषेध गर्ने निर्णय गरेको हाे । 

त्यसैगरी बैठकले सार्वजनिक स्थल, खुला चौर, चोक बाटोमा दुर्गा पुजाको झाँकी, पण्डाल निर्माण गर्न नपाउने, पुजा आराधना घरघरमा गर्ने र सार्वजनिक स्थान र मन्दिरमा भिडभाड नगर्ने, भिडभाड हुने कुनै पनि मेला, महोत्सव लगाउन नदिने निर्णय गरेको छ।

यस्तै वीरगञ्ज बजारको मुख्य क्षेत्रमा फुलपातिको दिनदेखि नवमीको दिनसम्म सवारी साधन संचालनमा आवश्यकता अनुसार रोक लगाईने, फुलपाती भित्रयाउने कार्यक्रम सांकेतिक रुपमा मात्रै गर्ने, चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन जिल्ला प्रहरी र ट्राफिक प्रहरीले गर्ने, गहवामाई, विन्दवासिनी, विर्तामाई र नगवा मन्दिरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था मिलाउने र त्यहा कुनै प्रकारका फुटपाथ बजार संचालन गर्न नपाइने निर्णय गरेको छ ।

प्रकाशित मिति: : 2020-10-08 20:03:00

प्रतिकृया दिनुहोस्