सुकुम्बासी बस्तीको तीन सय रोपनी जमिनमा भएको घर जग्गा तत्काल उपलब्ध गराइदिने भनेर पैसा उठाउने गिरोह रंगेहात पक्राउ परेका छन्।
नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौंको नाममा विभिन्न व्यक्तिलाई भौतिक पूर्वाधारसहितको जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने गिरोहका ८ जनालाई कास्कीमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कास्कीकै माछापुच्छ्रे गाउँपालिका-९ घर भई अहिले पोखराको पर्स्याङ बस्ने ३९ बर्षीय हिराबहादुर तामाङ, म्याग्दीको रघुगंगा गाउँपालिका ४ राफु घर भई हाल पोखराको कुँडहर बस्ने रमेशकुमार परियार, रुपन्देहीको सैनामैना नगरपालिका ९ बाँसगडी घर भई हाल पोखराको चाउथे बस्ने ओमबहादुर सुनार रहेका छन्।
यस्तै, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ एक्ले घर भई हाल पोखरा बस्ने रिता विश्वकर्मा, पोखराको चोरसाँघु बस्ने सोनु परियार, पोखराकै बाँझापाटनका सिता सुनार, मियापाटनका हर्कबहादुर विक र मियापाटनका मौसम सदाशंकर पनि पक्राउ परेका छन्। उनीहरूलाई पोखराको विभिन्न स्थानबाट पक्राउ गरेको डिएसपी हमालले बताए।
हिराबहादुर तामाङको नेतृत्वमा सुकुमवासी आयोगको प्रदेश कार्यसमिति गठन भएको भन्दै उनीहरुले माइनुट गर्ने, नागरिकता र फोटो माग्दै पैसा उठाउँदै गरेका थिए। यो गिरोहले भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीको नक्कली हस्ताक्षरसमेत प्रयोग गरेर पैसा उठाएको खुलेको छ।
उनीहरूको साथबाट नक्कली सुकुम्बासी समस्या समाधान आयोगको बैठक पुस्तिका, नगदर उठाएको रजिष्टर, नगदी रसिद प्याड, नगद उठाएको रसिद प्याडको अर्धकट्टी, विभिन्न व्यक्तीका नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजका फोटो समेत प्रहरीले बरामद गरेको छ।
जग्गा उपलब्ध गराइदिने भनेर उनीहरुले सुकुम्बासी बस्तीका स्थानीयसँग उठाएको नगद १ लाख ६१ हजार रुपैयाँ समेत बरामद गरेको प्रहरी प्रवक्ता डिएसपी हमालले बताए। प्रहरीले जिल्ला अदालत कास्कीबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
पक्राउ परेका गिरोहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (१) बमोजिम नियन्त्रणमा लिएर मुद्धा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ। अनुसन्धान प्रक्रिया पूरा भएपछि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तरगत दफा २४९ अनुसार मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाएको डिएसपी हमालले बताए।