युइएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मनीले स्विटजरल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको छ।
दुई पटक अग्रता लिएपनि अन्तिममा १० खेलाडीमा सिमित बनेको स्विटजरल्याण्डले जर्मनीसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
टिमो वार्नर र काइ हाभर्ट्जले जर्मनीका लागि गोल गरेका थिए। सर्ज ग्याब्रीले जर्मनीका लागि एक गोल थपे।
स्विटजरल्याण्डका गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन्।
खेलको ५औं मिनेटमै स्विटजरल्याण्डका गभरानोविचले गोल गर्दै अग्रता दिलाएका थिए।
यस्तै फ्रियूलरले २६औं मिनेटमा गोल गर्दा स्विटजरल्याण्डले अग्रता दोब्बर बनायो। तर त्यसको दुई पछि नै जर्मनी खेलमा फर्कियो। टिमो वार्नरले गोल गर्दै जर्मीलाई १–२ को स्थितिमा ल्याए।
दोस्रो हाफको ५५औं मिनेटमा हाभर्ट्जले गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याए। तर त्यो बराबरी १ मिनेट पछि नै तोडियो। स्विटजरल्याण्डका गभरानोविचले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–३ मा पुर्याए।
६०औं मिनेटमा जर्मनी खेलमा फर्कियो। उसका लागि ग्याब्रीले गोल गरे।
खेलको ९०औं मिनेटमा स्विटजरल्याण्ड १० खेलाडीमा सिमित बन्यो। सर्चार दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए।
जर्मनीका टोनी क्रुसले १०० खेलको कोशे ढुङ्गा पार गरे। यो सफलता प्राप्त गर्ने उनी जर्मनीका १२ औं खेलाडी बने।
स्विटजरल्याण्डलाई अघिल्लो चरण पुग्न जितको आवश्यकता रहेको थियो। तर तालिकाको पुछारमा रहेको स्विटजरल्याण्डको मात्र २ अंक छ। जर्मनीले अर्को चरणमा युक्रेनसँग खेल्नेछ।
युक्रेनले गएराति भएको खेलमा स्पेनलाई १–० ले पराजित गरेको थियो।