कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ति गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा ताला लगाएको छ।
सोमबार उपकुलपति डा। वाग्लेले जनस्वास्थ्य संकायको डिन नियुक्त गरेका थिए।
ताला लागेपछि अस्पताल प्रशासन भित्र रजिष्टार, उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षका सबै प्रशासनिक काम ठप्प भएका छन्।
प्रतिष्ठानमा यसअघि दुई जना डिन नियुक्त भइसकेका छन्। उनीहरुलाई जनस्वास्थ्य संकायको जिम्मेवारी दिन सकिने अवस्था भएपनि उपकुलपतिले प्रतिष्ठानबाट आर्थिक भार पर्ने गरि डिन नियुक्त गरेपछि कर्मचारी आन्दोलित भएका हुन।
वाग्लेले काठमाडौं सम्पर्क कार्यालयबाट अर्को डिन नियुक्त गरेका हुन। प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले डिन नियुक्ति फिर्ता लैजान २४ घण्टाको समय दिएका थियो।
पछिल्लो चौविस घण्टामा कुनै प्रक्रिया सुरु नभएकोले बाध्य भएर ताला लगाउनु परेको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामाकान्त उपाध्यायले जानकारी दिए।
‘असोज २६ गते काठमाडौं कार्यालयबाटै उपकुलपतिले डिन नियुक्त गर्नुभयो। सो कदम फिर्ता लिन २४ घण्टाको अल्टिमेटम दियौं,’ उनले भने, ‘अस्पताल प्रशासन तथा शैक्षिक प्रशासनमा अनिश्चितकालिन ताला लगाउन बाध्य भयौं।’
कर्मचारी समाजले प्रतिष्ठानमा भइरहेको डिन नियुक्ति लगायतको फर्जी कर्मचारी नियुक्ति प्रक्रियामा भइरहेको अनियमितता विरुद्दको आन्दोलनमा साथ दिन जुम्लाबासीलाई आग्रह गरेको छ। उपकुलपति डिन नियुक्तिका विषयमा जिम्मेवार नभएको आरोप समेत लगाएको छ।