हिमाल खुलेको छ, हेरिदिने कसले !

हिमाल खबर

काठमाडौं

प्रकाश गुरागाईं 

बाटोमा खच्चडहरुको ठेलमठेल। खुलेको नीलो आकाशमा टल्किरहेका सेता हिमाल। क्यामरा तेर्साइरहेका विदेशी पर्यटक। लुक्लाबाट नाम्चे हुँदै खुम्जुङ पुगुन्जेल देखिने दृश्य यस्तै हुन्थे। यसपटक पनि हिमाल टल्किएका छन्। तर, हेरिदिने पर्यटक छैनन्। 

कोभिड–१९ महामारीका कारण विश्वको अग्लो हिमाल सगरमाथा र अन्य हिमाल हेर्न यसपटक कोही विदेशी आएनन्। बरु पहिला यो सिजनमा नदेखिने नेपाली पर्यटक फाट्टफुट्ट भए पनि नाम्चेबजार हुँदै खुम्जुङसम्म पुगिरहेका छन्।

यसअघि वर्षमा दुई सिजन चैत, वैशाख तथा असोज, कात्तिक यहाँका होटल व्यवसायीलाई भ्याइनभ्याइ हुन्थ्यो। विदेशी पर्यटकका कारण नेपालीलाई बास पाउनै मुस्किल पर्थ्याे। पथप्रदर्शकहरुको आम्दानी हुने समय पनि यही थियो। भरिया र घोडा व्यवसायी पनि व्यस्त हुन्थे।

तर, यसपटक नाम्चेबजारबाट माथि स्याङ्बोचेको उकालो उक्लने विदेशी भेटिएनन्। बिहान त हिंड्ने ठाउँसम्म नपाइने यो बाटोमा अहिले स्थानीय र फाट्टफुट्ट नेपाली पर्यटक मात्र हिंड्छन्। स्थानीय होटल व्यवसायी र पथप्रदर्शकलाई गफ गर्न फुर्सद मिलेको छ।

यती एअरलाइन्स र समिट एअरले १५ असोजदेखि ‘पर्यटक प्याकेज’ ल्याएपछि खुम्जुङ पुग्ने नेपाली भेटिन थालेका हुन्। केही भने गोक्यो ताल र बेस क्याम्पसम्म पुग्छन्। तर, खुम्बु पासाङ ल्हामु गाउँपालिकाले त्यता जान अनिवार्य पीसीआर जाँच गर्नुपर्ने व्यवस्था गरेको छ। यसरी घुम्न आउने नेपालीको संख्या निकै कम भएको नाम्चेबजारकी होटल व्यवसायी आङमाया शेर्पा बताउँछिन्।
 

प्रकाशित मिति: : 2020-10-16 15:24:00

प्रतिकृया दिनुहोस्