भारतमा बुवाको नोकरी छुट्यो, यता उनको पढाइ

सेतोपाटी

काठमाडाैं

कैलालीको गोदावरी नगरपालिका-११ की जुनकिरी नेपालीका बुवा भारत जान्थे। उतै नोकरी गर्थे, घरखर्च पठाउँथे। बुवाले पठाएको पैसाले उनीहरूको घर चल्थ्यो। घरसँगै जुनकिरीको पढाइ पनि चल्थ्यो।  उनका बुवा चाडबाडमा मात्रै नेपाल फर्किन्थे। 

यसपालि  कोरानाका कारण काम बन्द भएपछि उनी चैतमै घर आए। अहिलेसम्म घरमै छन्। घरमा खेतीपाती लगाउन जमिन छैन। कमाइ हुने कुनै बाटो छैन। 

बुबा घरमै भएपछि खर्च चलाउन समस्या हुने गरेको जुनकिरीले बताइन्।

जुनकिरी कक्षा ९ पास भएर यसै वर्ष १० मा गएकी हुन्। ६ महिनादेखि उनले कुनै पनि तरिकाले पढ्न पाएकी छैनन्। 

लकडाउनयता  घरको काममा समय बिताएको उनले बताइन्।

‘घरको काम गरिन्छ। ज्यालामा अरूको धानसान लगाउने, काट्ने काम गरें,’ उनले भनिन्।

कोरोनाकै कारण लामो समय बन्द भएको उनको स्कुलमा फेरि पढाइ सुरू हुन थालेको छ। स्कुलमा कक्षा ८ र १० का लागि कक्षा सञ्चालन भएका छन्।

उनी पढ्ने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोदकुमार उपाध्याय भट्टराईले कोरोनाका कारण अरू कक्षा चलाउन नसके पनि बोर्ड परीक्षा हुने भएकाले कक्षा ८ र १० का विधार्थीलाई पढाउन थालेको बताए।

प्रकाशित मिति: : 2020-10-18 12:25:00

प्रतिकृया दिनुहोस्