वाइडेनप्रति ट्रम्प आक्रामक, भने– वाइडेन चीनका लागि काम गर्छन्

संजोग आचार्य

न्युयोर्क
तस्बिरः बिएल
तस्बिरः बिएल

अमेरिकामा राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा डेमोक्रेट उम्मेदवार जो वाइडेनप्रति राष्ट्रपति ट्रम्प झन् बढी आक्रामक देखिएका छन्। उनले शनिबार राती मिसिगन राज्यको मस्केनमा भएको चुनावी सभामा वाइडेनलाई चीनको लागि काम गर्ने व्यक्ति भएको आरोप लगाएका छन्। 

विश्व परिदृशमा कमजोर हुँदै गएको अमेरिकाको शाखलाई पुनःस्थापित गर्ने नारासहित दोस्रो कार्यकालका लागि चुनाव लडिरहेका ट्रम्पले भने, ‘डेमोक्र्याट र वाइडेनको इतिहास खोतलौं। उनीहरूले चीनलाई कति महत्व दिएका छन् भन्ने स्पष्ट हुन्छ। उनीहरू चीनका लागि काम गर्ने मानिस भएको प्रमाणले बताउँछ।’

ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा चीनलाई कडा जवाफ दिएको सन्देश जनसमक्ष राखे। उनले चीन अमेरिकाका लागि सबैभन्दा ठूलो चुनौति भएको स्पष्ट पारे। उनले विश्व व्यापार संगठन (डब्ल्यूटिओ) मा चीनलाई सदस्य बनाउन डेमोक्र्याटको मुख्य भूमिका रहेको भन्दै वाइडेनलाई घेर्ने प्रयास गरे। 

उनले जनसभामा भने, ‘सबैलाई थाहा भएको विषय हो, चीनलाई डब्ल्यूटिओमा सदस्य कसले बनायो? (बाराक) ओबामा र वाइडेनकै समयमा हामीले चीनलाई यो संगठनमा प्रवेश गर्ने मौका दियौं। आज अमेरिकाका लागि उनीहरू नै ठूलो समस्या भएका छन्।’

केही समयअघि ट्रम्पलाई घेर्न डेमोक्रेटहरूले चीनको मुद्धा उठाएका थिए। तर, उनीहरूको भनाईको उत्तर दिँदै ट्रम्पले भने, ‘वाइडेनको के कुरा गर्नु, उनले अहिलेसम्म चीनको कार्यशैलीको विरोध गर्न सकिरहेका छैनन। ओबामाले पनि यस्तै गर्थे।’

उनले आफ्नो कार्यकालमा चीनविरूद्ध अमेरिका अहिलेसम्मकै इतिहासमा सबैभन्दा बलियो रूपमा प्रस्तुत भयो। ‘हामीले चीनविरूद्ध कडा निर्णय गर्‍यौं। चीनले जुन महामारी फैलाएको छ, त्यसको लागि अमेरिकाले चीनलाई कहिल्यै माफी गर्ने छैन,’ ट्रम्पले भने। 

मिसिगनमा पछिल्लो समय भइरहेको चोरीको घटनालाई पनि ट्रम्पले जोडदार रूपमा उठाए। मिसिगनमा हजारौंको संख्यामा फ्याक्ट्री छ। यहाँ मध्यवर्गीय मतदाताको पहुँच थुप्रै छ। ट्रम्पले यिनीहरूलाई आकर्षित गर्न भने, ‘चीनले सबै क्षेत्रमा चोरी गरेको छ। हाम्रो रोजगारीसमेत चोरेको छ। वाइडेन त सधै निन्द्रामा मस्त हुन्छन्।’

ट्रम्पले यतिबेला पनि वाइडेनप्रति आक्रामक हुँदै भने, ‘मैले ४७ महिनामा जे गरेर देखाए, त्यो वाइडेनले ४७ वर्षसम्म गर्न सक्दैनन्। यदी उनको नीति लागु भएको भए अमेरिकामा सामाजिक सुरक्षाको अवस्था नै समाप्त हुन्थ्यो। उनको के कुरा गर्ने, चाइनिज भाइरसको त विरोध गर्न सक्दैनन्।’

ट्रम्पले भाषणकै क्रममा अमेरिकाका केही मिडियाले एकपक्षिय रूपमा समाचार सम्प्रेषण गरेको आरोप लगाए। उनले कोरोना भाइरसको विषयमा गलत खबर प्रकासित गरेर अमेरिकी जनतालाई धोका दिएको बताए। 

उनले अमेरिकी कांग्रेसकी पहिलो महिला सदस्य इल्हान उमरको भनाई उध्रृत गर्दै भने, ‘उनलाई हाम्रो देशसँग प्रेम नै छैन। उनले लकडाउनलाई समर्थन गरिन्। के हामीले देशलाई पुरै बन्द गर्न मिल्छ? यस्तो हुदैन। हामी चाहन्छौं, स्कुल पनि खुलोस्। तर, डेमोक्रेटहरू यसको विरोध गरिरहेका छन्।’

मिसिगनमा वाइडेनप्रति आक्रामक प्रस्तुत भएका ट्रम्पले केही समयपछि नै विस्कान्सिनको जेन्सविलेमा भएको अर्को सभामा पुनः चीनको मुद्धा लिएर वाइडेनलाई घेर्ने प्रयास गरें। उनले यहाँ कोरोनालाई छिट्टै नियन्त्रणमा ल्याउने आश्वासन दिए। यहाँ उनले काला जातिका ज्याकब ब्लेकको हत्याको कुरा उप्काउँदै ट्रम्पले भने, ‘हिंसा गर्ने कसैलाई छोडिने छैन। उनीहरूलाई कानुनी दायरामा ल्याइने छ। उनले वाइडेन र उपराष्ट्रपतिका उम्मेदवार कमला ह्यारिसले कानुनलाई कमजोर बनाउन खोजेको आरोप लगाए।  

प्रकाशित मिति: : 2020-10-19 13:06:00

प्रतिकृया दिनुहोस्