गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषलाई

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले दसैं भत्ता बापतकाे रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। 

प्रदेश मन्त्रिपरिषदको बुधबार बिहानको बैठकले कर नकाटी आउने उक्त भत्ताको सबै रकम कोरोना कोषमा दाखिला गर्ने निर्णय गरेकाे सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए।

यसअघि कोरोना महामारी सुरु हुनासाथै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उनको सचिवालयका सदस्यहरु र मन्त्रीहरुको १ महिनाको तलब कोरोना कोषमा जम्मा गरिएको थियो। मुख्यमन्त्री, मन्त्री र सांसदहरुले चाडपर्व भत्ता स्वरुप १ महिनाको तलब बराबरको रकम पाउँछन्।  

यसअघि गण्डकी प्रदेश सभामा कांग्रेस र जनमोर्चाका सदस्यहरुले दसैं भत्ता फिर्ता गर्ने जनाइसकेका छन्। सांसदहरुको मासिक पारिश्रमिक ५२ हजार रुपैयाँ हुन्छ। 

दलका सचेतकले भने ५४ हजार २ सय रुपैयाँ पाउँछन्। प्रमुख सचेतकको तलब ५६ हजार ८ सय ४० रुपैयाँ हुन्छ। गण्डकी प्रदेशमा मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७० हजार र मन्त्रीहरुको ६० हजार रुपैयाँ छ। 

प्रकाशित मिति: : 2020-10-21 12:39:00

प्रतिकृया दिनुहोस्